रौतहट । विगत चार दिनदेखि निरन्तर बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ।
गौर नगरपालिकाले सोमबार सूचना जारी गर्दै आज (मंगलबार) देखि पुस ११ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाएको हो। अत्यधिक चिसो र शीतलहरका कारण विद्यालयमा पठनपाठनमा असहजता उत्पन्न हुनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको जनाइएको छ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरका अनुसार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा यो निर्णय लागू हुनेछ। दिइएको बिदा बर्खे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको उनले जानकारी दिए।
पछिल्ला केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटसहित मधेशका विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ।








