रौतहट,१४ पुस ।रौतहटको यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वकिल पालले खुलेआम आर्थिक अनियमितता, कर्मचारीमाथि अवैध दबाब तथा प्रशासनिक आतंक मच्चाउँदै आएको गम्भीर आरोप लागेको छ।
प्राप्त जानकारीअनुसार पालले करिब १२ लाख रुपैयाँ बराबरको गाडी भाडा, ८ लाख ५० हजार रुपैयाँ मन्त्रालयको नाममा गरिएको खर्च, एउटा छापको १२ हजार रुपैयाँ, तथा बारा–पर्साका पत्रिकाको भुक्तानी गर्न लेखापाल र जिन्सी शाखामाथि निरन्तर दबाब दिँदै आएका छन्। तर ती खर्चहरू कानुनसम्मत प्रक्रिया नपुगेको भन्दै लेखापाल र जिन्सी शाखाले भुक्तानी गर्न अस्वीकार गरेपछि उनीहरूमाथि मानसिक तनाव, धम्की र दबाब दिने गरेको आरोप कर्मचारी स्रोतले लगाएका छन्।
कर्मचारीहरूका अनुसार नियम, कानुन र प्रक्रिया मिचेर जबर्जस्ती भुक्तानी गराउन खोज्दा लेखापाल र जिन्सी प्रमुखले कानुन विपरीत कार्य गर्न नमानेपछि कार्यालयभित्र असहज र त्रासपूर्ण वातावरण सिर्जना भएको छ। यसका कारण गाउँपालिकाको समग्र सेवा प्रवाह नै प्रभावित बनेको बताइएको छ।
यसैबीच, वकिल पाल यसअघि फतुवाविजयपुर नगरपालिकामा कार्यरत रहँदा कार्यवाहक नगरप्रमुख अम्बया खातुनको नक्कली हस्ताक्षर प्रयोग गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको गम्भीर आरोपसमेत लागेको थियो। सो घटनामा चार महिना बितिसक्दा पनि कुनै छानबिन वा कारबाही नभई उनी पुनः रौतहट आएर उस्तै गतिविधि दोहोर्याइरहेको स्थानीयको गुनासो छ।
अझ गम्भीर विषय त, पाल मालपोत कार्यालयमा अधिकृत हुँदा राजस्व बापत उठेको रकम आफ्नो निजी खातामा हाल्न लगाएको आरोप पनि यसअघि सार्वजनिक भइसकेको थियो। उनी जहाँ–जहाँ कार्यरत भए पनि विवाद र अनियमिततामा तानिँदै आएका व्यक्ति भएको स्थानीय बुद्धिजीवी तथा कर्मचारीहरूको भनाइ छ।
स्थानीय जनप्रतिनिधि, कर्मचारी र सचेत नागरिकहरूले यस्ता व्यक्तिलाई प्रशासनिक जिम्मेवारीमा राखिरहनु राज्यका लागि नै दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै तत्काल छानबिन र कडा कारबाहीको माग गरेका छन्।
वकिल पालका गतिविधिलाई भ्रष्टाचारको ज्वलन्त उदाहरण भन्दै यस्ता प्रवृत्तिविरुद्ध एकजुट भएर बहिष्कार गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
स्थानीय स्तरमै “भ्रष्टाचार नियन्त्रण गरौँ, लुट आतंक बन्द गरौँ” भन्ने अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।
समयमै यस्ता गतिविधिमाथि नियन्त्रण नगरिए यमुनामाई गाउँपालिकामा सुशासन केवल नारामा सीमित हुने र जनताले अझ ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी स्थानीयवासीले दिएका छन्।








