रौतहट । आगामी फागुन २१ गते हुने संघीय संसद् सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट जिल्लामा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म राजनीतिक दलहरू आन्तरिक छलफल, उम्मेदवार छनोट र संगठन सुदृढीकरणमा सक्रिय देखिएका छन् । विशेषगरी रौतहट क्षेत्र नम्बर ४ मा विभिन्न दलहरूबीच सम्भावित उम्मेदवार र टिकटको विषयलाई लिएर चिया–चौतारीदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा सुरु भएको छ ।
नेपाली कांग्रेसभित्र रौतहट क्षेत्र नम्बर ४ का लागि देवप्रसाद तिमल्सिना र रबिनचन्द्र कोइराला मध्ये एकजनाले संघीय सांसदको टिकट पाउने लगभग निश्चितजस्तै देखिएको छ । कांग्रेस स्रोतका अनुसार दुवै नेताको केन्द्रसम्म पहुँच, संगठनभित्रको पकड र विगतको भूमिकालाई आधार मानेर अन्तिम निर्णय हुने तयारी छ । कांग्रेसबाट सिफारिस भएका अन्य केही नामहरू भए पनि उनीहरूबारे भने खासै चर्चा नचलेको स्थानीय नेताहरू बताउँछन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी) तर्फबाट युवराज भट्टराई (समिर) र रामकुमार भट्टराई मध्ये एकजनालाई उम्मेदवार बनाउने विषयमा पार्टीभित्र छलफल चलिरहेको छ । दुबै नेताले क्षेत्रस्तरमा सक्रियता बढाउँदै भेटघाट, संगठन विस्तार र कार्यकर्ता परिचालनलाई तीव्र बनाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट भने राजकुमार दास तत्मा को एकल नाम सिफारिस भइसकेकोले उनी नै रौतहट क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रिने लगभग पक्का भएको छ । जसपाले यस क्षेत्रलाई आफ्नो बलियो आधार मान्दै चुनावी तयारीलाई थप व्यवस्थित बनाइरहेको जनाएको छ ।
त्यसैगरी नेकपा एमाले बाट उद्धवप्रसाद रेग्मी, बाबुराम दाहाल र अब्दुस मिया मध्ये एकजनाले टिकट पाउने चर्चा चुलिएको छ । एमाले स्रोतका अनुसार केन्द्रको निर्णयअनुसार उम्मेदवार टुंगो लागेपछि पार्टीले आक्रामक चुनावी अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनकराज भारती र प्रदीप राज कँडेल को नाम चर्चामा आएको छ । रास्वपाले पनि यस क्षेत्रलाई प्राथमिकतामा राख्दै मतदातासँग प्रत्यक्ष संवाद र संगठन निर्माणमा जोड दिएको छ ।
शनिबार तीन ठूला दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच भएको वार्तापछि निर्वाचनको वातावरण औपचारिक रूपमा बनेको भन्दै रौतहटका नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन् । सो वार्ताले निर्वाचनको मिति र प्रक्रियाप्रति अन्योल हटेको उनीहरूको बुझाइ छ ।
राजनीतिक गतिविधि बढेसँगै रौतहट क्षेत्र नम्बर ४ मा चुनावी माहोल तात्दै गएको छ । उम्मेदवारको अन्तिम टुंगो लाग्न बाँकी रहे पनि दलहरूबीचको प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ । आगामी दिनमा उम्मेदवार घोषणा भएसँगै चुनावी अभियान अझ तीव्र हुने स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन् ।