रौतहटको चन्द्रपुर नगरपालिका–६ मा रहेको चन्द्रपुर एकेडेमीमा आज ट्राफिक जनचेतनामूलक कक्षा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय चन्द्रपुर, रौतहटको प्राविधिक सहयोगमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त चेतनामूलक कक्षा सञ्चालन गरिएको हो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख राजेन्द्र थापा मगरले चन्द्रपुर क्षेत्रबाटै ट्राफिक जनचेतनामूलक कक्षा कार्यक्रमको सुरुवात गरिएको जानकारी दिनुभयो। यसअघि चन्द्रपुर–६ स्थित जनज्योति माध्यमिक विद्यालय तथा गुजरा नगरपालिकास्थित श्री माध्यमिक विद्यालयमा यस्ता कक्षा सञ्चालन गरिसकिएको र अब क्रमशः जिल्लाभरिका सामुदायिक तथा निजी विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो।
शिक्षासँगै विद्यार्थीहरूलाई हरेक विषयमा सचेत बनाउने उद्देश्य एकेडेमीको रहेको बताउँदै चन्द्रपुर एकेडेमीका अध्यक्ष बसन्त आचार्यले ट्राफिक सचेतना कार्यक्रमबाट विद्यार्थीहरूले सिकेका कुरा आफ्ना अभिभावकसम्म समेत पुर्याउने गरेको अनुभव सुनाउनुभयो।
सानैदेखि विद्यार्थीहरूलाई ज्ञानवर्द्धक तथा व्यवहारिक सिकाइ आवश्यक रहेको उल्लेख गर्दै एकेडेमीका सञ्चालक सदस्य राजेन्द्र तिवारीले यस्तो शिक्षा भविष्यमा विद्यार्थी, परिवार र समाजका लागि उपयोगी हुने बताउनुभयो।
एकेडेमीका प्रधानाध्यापक मोहन रसाइलीले “शिक्षा, सीप, संस्कार र सम्बन्ध” भन्ने अवधारणालाई आधार मानेर एकेडेमी अगाडि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सम्पूर्ण कर्मचारी टिमले उक्त अवधारणालाई व्यवहारमा उतार्न निरन्तर मेहनत गरिरहेको छ।
एकेडेमी अध्यक्ष आचार्यले विद्यार्थीहरूको मनोभावना बुझ्दै अभिभावकको विश्वास जितेर पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै अघि बढिरहेको बताउनुभयो। आगामी दिनमा देखिएका सानातिना कमी–कमजोरी सुधार गर्दै सम्पूर्ण नगरवासीको विश्वास जित्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
तीन वर्षअघि स्थापना भएको चन्द्रपुर एकेडेमीले आउँदो चैतमा पहिलो पटक एसईई परीक्षा दिने तयारी गरेको छ। हाल एकेडेमीमा करिब ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने दुईवटा सवारी साधनसहित २७ जना कर्मचारीलाई रोजगारी प्रदान गरेको छ।








