रौतहट,१ माघ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पौराई ब्रह्म बाबा मन्दिर परिसरमा जडान गरिएका भेपर लाइटहरू बिग्रिएपछि मन्दिर क्षेत्र अन्धकारमा परेको छ । चन्द्रपुर नगरपालिकाको बजेटबाट करिब १७–१८ महिना अघि जडान गरिएका छवटा भेपर लाइटमध्ये पाँचवटा पूर्ण रूपमा बल्न छाडेका छन् भने एउटा मात्रै पिलिपिली बलिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीयका अनुसार मन्दिरको वरिपरि उज्यालो व्यवस्थापनका लागि लाखौँ रुपैयाँको लागतमा भेपर लाइट जडान गरिएको भए पनि दुई वर्ष पनि नपुग्दै ती लाइटहरू बिग्रिनु चिन्ताजनक विषय बनेको छ । लाइट जडान गरिएको स्थान नै फुटेर झरेका कारण बत्ती नबलेको एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा बताएका छन् । यसले जडान प्रक्रियादेखि प्रयोग गरिएका सामग्रीसम्मको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।
मन्दिरमा बिहान–साँझ नियमित रूपमा पूजाआजा तथा दर्शनका लागि आउने भक्तजन र आगन्तुकहरूलाई बत्ती नबलेपछि विशेषगरी साँझपख समस्या उत्पन्न भएको स्थानीय समाजसेवी लक्ष्मण न्यौपानेले बताए । “मन्दिर जस्तो पवित्र स्थानमा आधारभूत उज्यालोसमेत नहुनु दुःखद हो,” उनले भने, “यसले भक्तजनको सुरक्षामा समेत असर पारेको छ।”
स्थानीय बासिन्दाहरूले ठेक्का पाएको ठेकेदारले गुणस्तरहीन कम्पनीका भेपर लाइट प्रयोग गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यदि गुणस्तरीय सामग्री प्रयोग गरिएको भए १८ महिनामै लाइट बिग्रिने अवस्था आउने थिएन । मन्दिर वरिपरि बत्ती जडानको नाममा आर्थिक अनियमितता भएको आशंका पनि स्थानीयले व्यक्त गरेका छन् ।
भेपर लाइट जडान गरेको १८ महिना नबित्दै अधिकांश बत्ती बल्न छाडेपछि सम्बन्धित कम्पनी र ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ । साथै, नगरपालिकाले तत्काल अनुगमन गरी बिग्रिएका बत्ती मर्मत वा नयाँ गुणस्तरीय बत्ती जडान गर्नुपर्ने उनीहरूको भनाइ छ ।
धार्मिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको पौराई ब्रह्म बाबा मन्दिरको संरक्षण र व्यवस्थापनमा जिम्मेवार निकायले समयमै ध्यान नदिँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग र स्थानीयको आस्थामाथि चोट पुग्ने खतरा बढ्दै गएको स्थानीयको निष्कर्ष छ ।