जनकपुर,१ माघ ।
जनकपुरधामका दुई छुट्टाछुट्टै स्थानमा भएको टिपर दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
आज शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ज७प २८३७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वरनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना तीव्र गतिको कारण भएको हो।
त्यसैगरी, रामानन्द चोकमा प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा मिथिला बिहारी नगरपालिका–७ की ३० वर्षीया नितु साह गम्भीर घाइते भएकी छन्। उनको थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड तथा आगजनीको प्रयास गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिई दुवै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।








