काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले आज देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ।
आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा तय भएकाले त्यसअगावै सम्बन्धित निर्वाचन क्षेत्रहरूमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याई आवश्यक कर्मचारी खटाउने तयारी गरिएको हो। यसले निर्वाचन प्रक्रिया व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न सहयोग पुग्ने आयोगको विश्वास छ।
आयोगले यसअघि नै प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतको नियुक्ति गरिसकेको छ। मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई एउटै–एउटै निर्वाचन क्षेत्रको जिम्मेवारी दिइएको छ, जसअनुसार उनीहरूले आफ्नो क्षेत्रमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्नेछन्।
मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीशहरूलाई दिइएको छ भने निर्वाचन अधिकृतका रूपमा न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरू तोकिएका छन्। न्याय परिषद्सँग आवश्यक परामर्शपछि आयोगले मुख्य तथा अन्य निर्वाचन अधिकृतहरूको नाम टुंगो लगाएको जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्ता, निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी परिचालन तथा सुरक्षा संयोजनजस्ता कामहरू औपचारिक रूपमा अघि बढ्ने आयोगले जनाएको छ।








