काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन कार्यसमिति सदस्यहरू सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा जुट्न थालेका छन् । बैठकमा सहभागी हुन पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरू पार्टी कार्यालय पुग्ने क्रम जारी छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । बिहान ८ बजेका लागि बैठक बोलाइए पनि समाचार तयार पार्दासम्म बैठक सुरु हुन सकेको छैन ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको भोलिपल्ट बस्न लागेको यस बैठकलाई राजनीतिक रूपमा अत्यन्तै अर्थपूर्ण र निर्णायक मानिएको छ । पार्टीभित्रको सत्ता संघर्ष, संगठनात्मक नियन्त्रण तथा आगामी प्रतिनिधिसभा निर्वाचनको रणनीतिबारे बैठकमा गम्भीर छलफल हुने नेताहरूको अनुमान छ ।
विशेष महाधिवेशनको वैधता, केन्द्रीय समितिको संरचना, उम्मेदवार चयन प्रक्रिया तथा निर्वाचन आयोगको निर्णयपछिको आगामी कदमबारे देउवा पक्षले के निर्णय लिन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ । बैठकको निष्कर्षले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा स्पष्ट गर्ने अपेक्षा गरिएको छ ।