रौतहट, २० पुस ।
नेकपा (एमाले) रौतहटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट अन्तिम उम्मेदवारको नामावली पार्टी केन्द्रमा पठाएको छ। क्षेत्रीय कमिटीहरूबाट सिफारिस भई आएका नामलाई जिल्ला कमिटीले छलफल तथा समन्वयपछि फाइनल गर्दै केन्द्रमा पठाएको हो ।
पार्टी केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट अधिकतम तीनजनासम्म उम्मेदवारको नाम सिफारिस गरी पठाउन परिपत्र गरेअनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रका लागि नामावली केन्द्रमा पठाइएको नेकपा एमाले रौतहट जिल्ला कमिटीले जनाएको छ ।
जिल्ला कमिटीका अनुसार रौतहट निर्वाचन क्षेत्र नम्बर १ का लागि पार्टीका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको नाम एकल रूपमा सिफारिस गरी केन्द्रमा पठाइएको छ। क्षेत्रीय कमिटीबाटै गुप्ताको नाम सर्वसम्मत रूपमा सिफारिस भएपछि जिल्ला कमिटीले पनि कुनै विकल्प नराखी एकल नाम केन्द्रमा पठाएको हो। यस क्षेत्रबाट गुप्तालाई एमालेको बलियो र सम्भावनायुक्त उम्मेदवारका रूपमा हेरिएको छ ।
त्यसैगरी रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट भने तीनजनाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रबाट शैलेन्द्र साह, मनोज यादव र अबुल कलामको नाम केन्द्रमा पठाइएको छ। क्षेत्रीय कमिटीले सिफारिस गरेका नामलाई जिल्ला कमिटीले अन्तिम सूचीमा समेट्दै केन्द्रमा पठाएको हो। यस क्षेत्रलाई प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा लिइएकोले केन्द्रको निर्णय निर्णायक हुने नेताहरूको भनाइ छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट भने कुन्दन कुशवाहाको नाम एकल रूपमा केन्द्रमा पठाइएको छ। कुशवाहाको नाम क्षेत्रीय कमिटीले पनि सर्वसम्मत रूपमा एकल सिफारिस गरेको थियो। जिल्ला कमिटीले पनि क्षेत्रीय निर्णयलाई अनुमोदन गर्दै केन्द्रमा एकल नाम पठाएको हो। यसले कुशवाहाप्रति पार्टीभित्र बलियो सहमति रहेको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट उद्धवप्रसाद रेग्मी, रामजी साह र आरती भण्डारीको नाम केन्द्रमा पठाइएको छ। यस क्षेत्रमा पनि केन्द्रको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ।
नेकपा एमाले रौतहटका उपसचिव अवधेश यादवले जिल्लाबाट सबै निर्वाचन क्षेत्रको नामावली केन्द्रमा पठाइसकिएको पुष्टि गर्दै अब अन्तिम उम्मेदवार चयनको निर्णय पार्टी केन्द्रले गर्ने जानकारी दिए। उनले पार्टीको आन्तरिक प्रक्रिया लोकतान्त्रिक र विधिसम्मत ढंगले सम्पन्न भएको दाबी गरे।
एमाले रौतहटले उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएसँगै जिल्लामा चुनावी गतिविधि थप सक्रिय बन्ने देखिएको छ। अब केन्द्रबाट उम्मेदवारको टुंगो लागेपछि चुनावी प्रचार–प्रसार तीव्र रूपमा अघि बढ्ने स्थानीय नेताहरूको भनाइ छ।