रौतहट , २० पस / रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४, गौर रोडमा अवस्थित सिम्स अस्पतालले आजदेखि लागू हुने गरी विभिन्न शल्यक्रियामा भारी छुटको व्यवस्था गरेको छ। अस्पतालले केही महिनासम्म लागू हुने गरी शल्यक्रिया (अपरेशन) सेवामा करिब आधा शुल्क कटौती गरेको जनाएको छ, जसबाट गर्भवती महिला तथा सर्वसाधारण बिरामीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुँदै आएका बिरामीहरूलाई लक्षित गरी यो सुविधा सुरु गरिएको अस्पतालले जनाएको छ। अस्पतालका सञ्चालक डा. राम किशोर साहका अनुसार सिम्स अस्पतालले निःशुल्क ओपीडी (OPD) सेवा समेत उपलब्ध गराउँदै आएको छ।
डा. साहका अनुसार बच्चादानी (हिस्टेरेक्टोमी) शल्यक्रियाको शुल्क २० हजार रुपैयाँ तोकिएको छ। यस्तै, एपेन्डिक्स शल्यक्रिया १८ हजार, हर्निया २० हजार, हाइड्रोसिल १५ हजार, पाइल्स (बवासीर) १५ हजार तथा फिस्टुला शल्यक्रिया पनि १५ हजार रुपैयाँमै गरिनेछ। साथै, विभिन्न प्रकारका हड्डी भाँचिएका बिरामीहरूको C-Arm मेसिनद्वारा स्टिल राख्ने तथा निकाल्ने शल्यक्रियामा पनि विशेष छुट दिइने अस्पतालले जनाएको छ।
यसअघि बच्चादानी शल्यक्रियामा ३० देखि ३५ हजार रुपैयाँसम्म खर्च हुने गरेकामा अब २० हजार रुपैयाँमै सेवा उपलब्ध हुने भएको छ। त्यसैगरी, पहिले पेट खोलेर बच्चा निकाल्ने (सिजेरियन) शल्यक्रियामा ५० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेकामा अब उक्त शुल्क घटाएर ३० हजार रुपैयाँ मात्र कायम गरिएको डा. साहले जानकारी दिनुभयो।
यस्तै, एपेन्डिक्स शल्यक्रियामा पहिले करिब २८ हजार रुपैयाँ खर्च लाग्ने गरेकामा अब १८ हजार रुपैयाँमा गरिनेछ। हर्निया शल्यक्रियाको शुल्क पनि ३० हजारबाट घटाएर २० हजार रुपैयाँ तोकिएको छ। हाइड्रोसिल शल्यक्रिया अब १५ हजार रुपैयाँमै उपलब्ध हुने भएको छ, जुन यसअघि ३० हजार रुपैयाँसम्म खर्च हुने गर्थ्यो। पाइल्स र फिस्टुला शल्यक्रियाको शुल्क पनि २५ हजारबाट घटाएर १५–१५ हजार रुपैयाँ कायम गरिएको छ।
विशेषगरी गर्भवती महिलाका लागि ठूलो राहत दिँदै सिम्स अस्पतालले सिजेरियन शल्यक्रियाको शुल्क ३० हजार रुपैयाँ मात्र तोकेको छ। यसले गर्भवती महिला तथा निम्न आय भएका परिवारहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
अस्पतालले विभिन्न सात प्रकारका शल्यक्रियामा करिब आधा छुट प्रदान गरेपछि बिरामीहरूको उपचार खर्चमा उल्लेखनीय बचत हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले सिम्स अस्पतालको यस पहललाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने सकारात्मक कदमका रूपमा लिएका छन्।








