अशोक पहाडी

रौतहट,२७ पुस । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले मधेस प्रदेशका आठ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ । यसक्रममा रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्र पार्टीको प्राथमिकतामा परेको देखिएको छ, जहाँ एक क्षेत्रमा एकल उम्मेदवार सिफारिस हुँदा अन्य तीन क्षेत्रमा बहुप्रतिस्पर्धा देखिएको छ ।
एमाले मधेस प्रदेश कमिटीका अनुसार रौतहट क्षेत्र नं. १ बाट अजयकुमार गुप्ताको नाम एकल रूपमा सिफारिस गरिएको छ । रौतहट क्षेत्र नं. ३ बाट कुन्दन साहको नाम पनि एकल सिफारिस भएको छ, जसले यी दुई क्षेत्रमा एमालेको आन्तरिक सहमति तुलनात्मक रूपमा बलियो देखिएको संकेत गर्छ ।
तर रौतहट क्षेत्र नं. २ मा शैलेन्द्र साह, अबुल कलाम आजाद, अतिउल्लाह र मनोज यादव तथा
रौतहट क्षेत्र नं. ४ मा उद्धव रेग्मी, आरती भण्डारी र रामजी साह सिफारिस हुँदा कडा आन्तरिक प्रतिस्पर्धा देखिएको छ ।
मधेस प्रदेशका अन्य जिल्लाको अवस्था
रौतहटपछि मधेसका अन्य जिल्लामा पनि एमालेले एकल र बहुविकल्पीय सिफारिस गरेको छ।
सप्तरी
क्षेत्र नं. १ बाट सुमनराज प्याकुरेल र क्षेत्र नं. ३ बाट ताराकान्त चौधरी एकल सिफारिस भएका छन् । क्षेत्र नं. २ र ४ मा भने एकभन्दा बढी उम्मेदवार सिफारिस गरिएका छन् ।
सिरहा
क्षेत्र नं. ३ बाट लीलानाथ श्रेष्ठ र क्षेत्र नं. ४ बाट बिल्टु साह एकल सिफारिस भएका छन् । क्षेत्र नं. १ र २ मा बहुप्रतिस्पर्धा देखिएको छ ।
धनुषा
क्षेत्र नं. २ बाट उमाशंकर अरगरिया, क्षेत्र नं. ३ बाट जुलीकुमारी महतो र क्षेत्र नं. ४ बाट रघुवीर महासेठ एकल सिफारिस भएका छन् । क्षेत्र नं. १ मा पाँच जनाको नाम सिफारिस गरिएको छ ।
महोत्तरी
क्षेत्र नं. १ बाट लक्ष्मी महतो कोइरी, क्षेत्र नं. २ बाट रामपरीक्षण यादव र क्षेत्र नं. ४ बाट सरोजकुमार यादव एकल सिफारिस भएका छन् भने क्षेत्र नं. ३ मा दुई जनाबीच प्रतिस्पर्धा छ ।
सर्लाही
क्षेत्र नं. १ बाट मनोजकुमार देवकोटा र क्षेत्र नं. ३ बाट हरिप्रसाद उप्रेती एकल सिफारिस भएका छन् । क्षेत्र नं. २ मा तीन जनाको नाम सिफारिस गरिएको छ ।
बारा
चारै निर्वाचन क्षेत्रमा बहुविकल्पीय सिफारिस गरिएको छ । क्षेत्र नं. १ देखि ४ सम्म प्रभावशाली नेताहरूको लामो सूची पठाइएको छ ।
पर्सा
चारै निर्वाचन क्षेत्रमा एकभन्दा बढी उम्मेदवार सिफारिस गरिएको छ, जहाँ आन्तरिक प्रतिस्पर्धा सबैभन्दा तीव्र देखिएको छ ।
अन्तिम निर्णय केन्द्रबाट
एमाले मधेस प्रदेश कमिटीका महासचिव मनोज पौडेलका अनुसार जिल्ला तथा प्रदेशबाट आएका सबै नाम राय–सल्लाह र सुझावसहित केन्द्रीय कार्यालयमा पठाइसकिएको छ ।
उनले भने, “उम्मेदवारबारे अन्तिम निर्णय पार्टी केन्द्रीय कमिटीले गर्नेछ।”
विश्लेषकहरूका अनुसार रौतहटमा देखिएको एकल र बहुप्रतिस्पर्धाको मिश्रित अवस्था नै मधेस प्रदेशभरको एमालेको संगठनात्मक यथार्थको प्रतिबिम्ब हो, जसले अन्तिम उम्मेदवार छनोटलाई थप चुनौतीपूर्ण बनाउने देखिन्छ ।