इनर्वा, सिराहा।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाले भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकलाई स्रोत नखुलेको १० लाखभन्दा बढी नेपाली रुपैयाँसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिराहा जिल्लाको भगवानपुर गाउँपालिका–३ मरिकटोलका २४ वर्षीय देवनाथ यादव रहेका छन्। सशस्त्र प्रहरी बल हेडक्वार्टर (हेक्वा) इनर्वाबाट खटिएको टोलीले उनलाई आज दिउँसो भगवानपुर गाउँपालिका–४ स्थित ठाडीको दसगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल हेक्वा सिराहाका सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार मुख्य सीमास्तम्भ नम्बर २४६ नजिक सीमा क्षेत्रमा ड्युटीमा खटिएको टोलीले मोटरसाइकलमार्फत भारतबाट नेपाल प्रवेश गर्ने क्रममा यादवलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको १० लाख ३ हजार ९ सय ९० रुपैयाँ बरामद गरिएको हो।
पक्राउ परेका यादवको साथबाट एक थान मोबाइल फोन र प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। आवश्यक कानुनी कारबाहीका लागि उनलाई बरामद सामानसहित भन्सार कार्यालय ठाडीमा बुझाइने उपरीक्षक भण्डारीले जानकारी दिएका छन्।