अशोक पहाडी

रौतहटको चन्द्रनिगाहपुरबाट नेपाली फुटबलमा उदाउँदै गएका एक होनहार युवा यतिबेला खेलप्रेमीहरूको ध्यान केन्द्रित गर्न सफल भएका छन्। चन्द्रपुर नगरपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय विज्ञान खड्का नेपाली फुटबलको भविष्य बोकेको नामका रूपमा स्थापित हुँदै गएका छन्। सीमित साधन, सामान्य पारिवारिक पृष्ठभूमि र ग्रामीण परिवेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल मैदानसम्मको उनको यात्रा संघर्ष, मेहनत र आत्मविश्वासको प्रेरणादायी कथा हो।
२०६५ सालमा रौतहटको चन्द्रनिगाहपुरमा बुवा सन्तोष खड्का र आमा मेनुका खड्काको कोखबाट जन्मिएका विज्ञान खड्काले बाल्यकालदेखि नै फुटबलप्रति गहिरो आकर्षण राख्दै आएका थिए। विद्यालयका खाली घण्टा, साथीभाइसँगको फुर्सद र साँझपखको समय उनले प्रायः फुटबलमै बिताउने गर्थे। चन्द्रनिगाहपुरस्थित चिडियादह खेलमैदान नै उनको पहिलो प्रशिक्षणस्थल बन्यो, जहाँ उनले माटोमा लड्दै, पसिना बगाउँदै फुटबलको आधार सिके।
स्थानीय मैदानमै खेल्दै हुर्किएका खड्काको प्रतिभा चाँडै प्रशिक्षकहरूको नजरमा पर्न पुग्यो। चन्द्रनिगाहपुरका अनुभवी फुटबल प्रशिक्षक विक्रम घिमिरेको मार्गदर्शनमा उनले आफ्नो खेललाई अनुशासन, रणनीति र व्यावसायिक सोचतर्फ डोर्‍याए। घिमिरेको प्रशिक्षणमा खड्काले केवल खेल कौशल मात्र होइन, खेलाडी बन्न आवश्यक मानसिकता, अनुशासन र नेतृत्व क्षमता पनि आत्मसात् गरे।
यसै मेहनत र लगनशीलताका कारण खड्काले एनआरटी क्लबको अन्डर–१७ टोलीमा स्थान बनाए। अझ महत्वपूर्ण कुरा, उनले सोही टोलीको क्याप्टेनको जिम्मेवारी समेत सम्हाल्ने अवसर पाए। क्याप्टेनका रूपमा उनले मैदानभित्र मात्र होइन, टोली व्यवस्थापन र प्रेरणामा समेत आफूलाई सक्षम सावित गरे। उनको नेतृत्वमा टोलीले विभिन्न प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो।
खड्काले नेपालमा आयोजना हुने अधिकांश घरेलु लिग तथा प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रमाणित गरिसकेका छन्। उनको खेलशैली, तीव्र गति, बल नियन्त्रण क्षमता र मैदानमा देखिने आत्मविश्वासले उनलाई फरक पहिचान दिएको छ। यिनै विशेषताका कारण उनी प्रशिक्षक तथा फुटबल विश्लेषकहरूको रोजाइमा पर्दै आएका छन्।
नेपाली मैदानमा मात्र सीमित नरही खड्काले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका छन्। विदेशमा आयोजना भएका विभिन्न फुटबल प्रतियोगितामा खेल्दै उनले नेपालका लागि पदक जित्न सफल भएका छन्। विदेशी खेलाडीहरूसँगको प्रतिस्पर्धाबाट उनले आफूलाई अझ परिपक्व र आत्मविश्वासी खेलाडीको रूपमा विकसित गरेका छन्। अन्तर्राष्ट्रिय अनुभवले उनको खेलस्तरमा थप निखार ल्याएको देखिन्छ।
हाल विज्ञान खड्का एनआरटी क्लबबाट हुन गइरहेको राष्ट्रिय लिग प्रतियोगिताका लागि आबद्ध भइसकेका छन्। राष्ट्रिय लिगलाई उनको करिअरको अर्को महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। फुटबलप्रेमीहरू र विश्लेषकहरूले यस प्रतियोगितामा उनको प्रदर्शनलाई निकै चासोका साथ हेर्ने अपेक्षा गरेका छन्।
महिला फुटबलको उर्वर भूमिका रूपमा परिचित रौतहटको चन्द्रनिगाहपुरबाट पुरुष फुटबलमा आफूलाई स्थापित गर्न सफल खड्का आज स्थानीय युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। सामान्य परिवारमा जन्मिएर पनि निरन्तर मेहनत, धैर्य र समर्पणका माध्यमबाट राष्ट्रिय स्तरको खेलाडी बन्न सकिन्छ भन्ने सन्देश उनले दिएका छन्।
खड्काका गुरु तथा प्रशिक्षक विक्रम घिमिरेका अनुसार विज्ञान खड्का रौतहटको मात्र नभई सिंगो देशकै गहना हुन्। “विज्ञानमा असाधारण क्षमता मात्र होइन, ठूलो सपना र त्यसलाई पूरा गर्ने दृढ इच्छाशक्ति छ। सही अवसर र निरन्तर मेहनत पायो भने उनी नेपाली फुटबलको भविष्य बदल्ने खेलाडी बन्न सक्छ,” घिमिरे भन्छन्।
उदाउँदो ताराका रूपमा चम्किँदै गएका विज्ञान खड्काबाट नेपाली फुटबलले आगामी दिनमा अझ धेरै उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ। उनको संघर्षपूर्ण यात्रा, निरन्तर सफलता र अगाडिको सपना नेपाली फुटबलको उज्यालो भविष्यको संकेतका रूपमा हेरिएको छ।