अशोक पहाडी
रौतहट,३० पुस ।नेपाली फुटबलका परिचित तथा स्थापित नाम हुन् रोशन पहरी। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ निवासी पहरी चन्द्रनिगाहपुरकै उत्पादन हुन्, जसले यहीँबाट फुटबल यात्राको सुरुआत गरी देशभरि आफ्नो पहिचान बनाउन सफल भएका छन्। हाल २६ वर्ष उमेर पुगेका रोशन नेपाली फुटबलमा अनुशासन, मेहनत र निरन्तरताको प्रतीकका रूपमा चिनिन्छन्।
बुवा सरोज पहरी र आमा सविता पोखरीको कोखबाट आजभन्दा २६ वर्षअघि रौतहटको चन्द्रनिगाहपुरमा जन्मिएका रोशन सानैदेखि खेलकुदप्रति आकर्षित थिए। स्थानीय स्तरमै फुटबलको आधारभूत ज्ञान हासिल गरेका उनले चन्द्रनिगाहपुरका अनुभवी फुटबल प्रशिक्षक चित्रबहादुर दर्लामीको प्रशिक्षणबाट व्यवस्थित रूपमा फुटबल खेलमा प्रवेश गरेका हुन्। प्रशिक्षक दर्लामीको मार्गदर्शनले पहरीको खेल जीवनलाई सही दिशा दिएको स्थानीय फुटबलकर्मीहरूको भनाइ छ।
रोशन पहरीले नेपाल सुपर लिगको पहिलो र दोस्रो संस्करणमा सहभागिता जनाइसकेका छन्। यसका साथै देशका विभिन्न स्थानमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा उनले आफ्नो खेलकौशल प्रदर्शन गर्दै आएका छन्। मिडफिल्डरका रूपमा उनको बल नियन्त्रण, खेल पढ्ने क्षमता र अनुशासित खेल शैलीले उनलाई घरेलु लिगका महँगा तथा खोजिने खेलाडीमध्ये एक बनाएको छ।
देश तथा विदेशमा आयोजना हुने विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका पहरी हाल भोलिदेखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबबाट मैदान उत्रँदैछन्। सातदोबाटोजस्तो प्रतिष्ठित क्लबबाट खेल्न पाउनु पहरीको निरन्तर मेहनत र क्षमताको परिणाम भएको फुटबल विश्लेषकहरू बताउँछन्।
स्थानीय बासिन्दा तथा व्यवसायी एवं फुटबलप्रेमी अभि घिमिरेका अनुसार रोशन पहरी रौतहटको चन्द्रनिगाहपुरका शान हुन्। महिला फुटबलको ‘कारखाना’का रूपमा चिनिँदै आएको चन्द्रनिगाहपुरबाट पुरुष फुटबलमा समेत आफ्नो नाम स्थापित गर्न सफल पहरीले रौतहटको पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गरेका छन्।
नेपाली फुटबल क्षेत्रमा रोशन पहरी हाल अनुशासित र व्यावसायिक खेलाडीका रूपमा परिचित छन्। प्रत्येक फुटबल सिजनमा उनलाई आफ्नो क्लबबाट खेलाउन विभिन्न क्लबहरूबीच होडबाजी चल्नुले पनि उनको महत्व र क्षमताको स्पष्ट संकेत गर्छ। मेहनत, अनुशासन र निरन्तर प्रगतिका साथ अघि बढिरहेका रोशन पहरी नेपाली फुटबलका भरोसायोग्य मिडफिल्डरका रूपमा भविष्यमा अझ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।







