रौतहट,२९ पुस । पर्यटन क्षेत्रलाई व्यवस्थित, दिगो र समन्वयात्मक रूपमा अघि बढाउने उद्देश्यले उद्यान महासङ्घन गठन भएको छ । महासङ्घनको गठनले लामो समयदेखि देखिँदै आएका पर्यटन क्षेत्रका विविध समस्याहरू समाधान गर्न महत्वपूर्ण योगदान दिने महासङ्घका केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्ज खड्काले बताएका छन् । उनका अनुसार उद्यान, प्राकृतिक सम्पदा र पर्यटकीय गन्तव्यलाई एउटै छातामुनि ल्याएर अघि बढ्दा पर्यटन विकासमा नयाँ सम्भावना सिर्जना हुनेछ ।
खड्काले विशेषगरी रौतहट क्षेत्रभित्र रहेका नुनथर र भरतताललाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धनको योजना अघि बढाइने स्पष्ट पारे । नुनथर प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र भए पनि आवश्यक पूर्वाधार, प्रचार–प्रसार र व्यवस्थापनको अभावमा ओझेलमा परेको उनको भनाइ छ । महासङ्घनमार्फत नुनथरलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै, धार्मिक तथा पर्यावरणीय महत्व बोकेको भरतताललाई समेत व्यवस्थित रूपमा विकास गरिने खड्काले बताए । भरततालसँग जोडिएका धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई उजागर गर्दै पर्यटकीय उत्पादनको रूपमा स्थापित गर्न महासङ्घन सक्रिय रहनेछ । ताल वरपर सरसफाइ, पूर्वाधार निर्माण, स्थानीय समुदायको सहभागिता र रोजगारी सिर्जनामा जोड दिइने उनले उल्लेख गरे ।
उद्यान महासङ्घन गठनसँगै पर्यटन क्षेत्रमा देखिएका नीतिगत अस्पष्टता, समन्वयको कमी र लगानी अभाव जस्ता समस्याहरू समाधान हुने विश्वास व्यक्त गरिएको छ । खड्काका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै निजी क्षेत्र र स्थानीय समुदायलाई समेत समेटेर पर्यटन विकासको दीर्घकालीन योजना तयार गरिनेछ ।
महासङ्घनको सक्रियताले नुनथर र भरतताल मात्र होइन, आसपासका अन्य सम्भावनायुक्त क्षेत्रसमेत पर्यटनको नक्सामा स्थापित हुने अपेक्षा गरिएको छ । यसले स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको छ ।








