चन्द्रनिगाहपुर,२९ पुस ।
चन्द्रनिगाहपुर बजार क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले जथाभावी टाँगेका तारहरूले ठूलो जोखिम निम्त्याइरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। मुख्य चोकदेखि भित्री सडकसम्म बिजुलीका पोलैपिच्छे लत्रिएका र गुचुल्टिएका तारका मुठाहरू देख्न सकिन्छ, जसले कुनै पनि बेला गम्भीर दुर्घटना निम्त्याउन सक्ने अवस्था सिर्जना गरेको छ।
स्थानीय बासिन्दाका अनुसार बजार क्षेत्रमा झुन्ड्याइएका इन्टरनेटका तारहरू अत्यन्तै तलसम्म झुन्डिएका छन्। ती तारमा बेरिएर मोटरसाइकल चालक, साइकल यात्री तथा साना सवारीसाधन दुर्घटनामा पर्न सक्ने खतरा बढ्दै गएको छ। स्थानीय बासिन्दा बसन्त आचार्यका अनुसार, “मुख्य चोकमै यति धेरै तारहरू लत्रिएका छन् कि राति वा भीडभाडको समयमा कुनै पनि बेला ठुलो दुर्घटना हुन सक्छ। चालकहरूको ज्यान नै जोखिममा परेको छ।”
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पोल प्रयोग गरेबापत भाडा लिँदै आएको भए पनि तार व्यवस्थापनमा कडाइ नगर्दा उनीहरूको मनोमानी बढेको स्थानीयको बुझाइ छ। नियमनको अभावकै कारण इन्टरनेट कम्पनीहरूले आवश्यकता भन्दा बढी तार टाँग्ने, पुराना तार नहटाउने र अव्यवस्थित रूपमा जडान गर्ने गरेको आरोप स्थानीयले लगाएका छन्।
बिजुलीका पोलमा लत्रिएका तारहरू समेट्ने र व्यवस्थापन गर्ने विषयमा चन्द्रपुर नगरपालिकाले समेत आवश्यक ध्यान नदिएको स्थानीयको गुनासो छ। नगरपालिकाको बेवास्ताका कारण दुर्घटनाको जोखिम मात्र नभई ठूलो आगलागीको सम्भावना समेत बढेको उनीहरू बताउँछन्। गुचुल्टिएका तारका मुठाहरूमा सर्ट सर्किट भएमा चन्द्रनिगाहपुर बजार क्षेत्रमा कुनै पनि बेला ठुलो आगलागी हुन सक्ने खतरा रहेको आचार्यको भनाइ छ।
स्थानीय बासिन्दाहरूले सम्बन्धित निकाय—चन्द्रपुर नगरपालिका, नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरू—बीच समन्वय गरी तत्काल तार व्यवस्थापन गर्न माग गरेका छन्। जथाभावी टाँगिएका तार हटाउने, प्रयोगमा नआएका तार काट्ने तथा सुरक्षित मापदण्डअनुसार मात्र तार जडान गर्न कडाइका साथ निर्देशन दिनुपर्ने उनीहरूको माग छ।
यदि समयमै सम्बन्धित निकायले ध्यान नदिए चन्द्रनिगाहपुरमा ठुलो मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै स्थानीयले तत्काल पहल गर्न आग्रह गरेका छन्। बजार क्षेत्रको सुरक्षा र सर्वसाधारणको ज्यान जोगाउन अब ढिलाइ नगरी ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।








