रौतहट, ११ माघ ।
नेपाली कांग्रेसका नेता रामेश्वर प्रसाद यादवले पार्टी परित्यागको घोषणा गरेका छन्। रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो नाम प्रतिनिधिसभा टिकटका लागि सिफारिस भए पनि पार्टीले सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झालाई टिकट दिएकोप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेका हुन्।
यादवले आफू लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै पार्टी निर्माण र संगठन विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको दाबी गरेका छन्। तर टिकट वितरणको क्रममा आफ्नो योगदानको कुनै मूल्यांकन नगरी बाहिरबाट आएका व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै उनले पार्टी निर्णयलाई अन्यायपूर्ण भनेका छन्।
उनका अनुसार, पार्टीमा वर्षौँ लगानी गरेका नेता–कार्यकर्तालाई बेवास्ता गर्दै अनिल कुमार झालाई टिकट दिनु गम्भीर त्रुटि हो। यही कारण पार्टीभित्र बसिरहन सम्भव नभएको उनले बताएका छन्।
टिकट वितरण प्रक्रियाप्रति कडा रोष व्यक्त गर्दै यादवले आइतबार औपचारिक रूपमा नेपाली कांग्रेस परित्यागको घोषणा गरेका हुन्। उनको पार्टी परित्यागसँगै कांग्रेसभित्रको आन्तरिक असन्तोष अझै सतहमा आएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
यस विषयमा पार्टी नेतृत्वबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।








