रौतहट,११ माघ । नेकपा एमाले रौतहट क्षेत्र नं ३ का उम्मेदवार कुन्दन प्रसाद कुशवाहा यतिबेला चुनावी मैदानमा सक्रिय देखिएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कुशवाहा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट र चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् ।
युवा उम्मेदवारका रूपमा परिचय बनाएका कुशवाहा आफ्नो निर्वाचन क्षेत्रमा विकास, शिक्षा र युवासम्बन्धी मुद्दालाई प्रमुख एजेण्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । प्रदेश सांसदका रूपमा यसअघि काम गरिसकेका उनी रौतहट क्षेत्र नं ३ को पछौटेपन अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताउँदै आएका छन् ।
कुशवाहाले क्षेत्र नं ३ मा आधारभूत पूर्वाधार, सडक सञ्जाल विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुधार तथा रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखेका छन् । विशेष गरी युवालाई स्वरोजगार र सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने योजना उनको चुनावी घोषणापत्रको मुख्य बुँदा रहेको छ । “विकासका कुरा कागजमा मात्र होइन, व्यवहारमा उतार्ने समय आएको छ,” उनी चुनावी सभामा बताउँछन् ।
उनको प्रमुख प्रतिद्वन्द्वीका रूपमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह रहेका छन् । साह पनि आफ्नै चुनावी एजेण्डासहित मैदानमा उत्रिएकाले रौतहट क्षेत्र नं ३ मा यसपटकको चुनाव रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
कटहरिया नगरपालिका स्थायी घर भएका कुन्दन कुशवाहा राजनीतिक पृष्ठभूमि भएको परिवारका सदस्य हुन् । उनी कजरिया गाविसका तत्कालीन अध्यक्ष जादुलाल कुशवाहाका जेष्ठ सुपुत्र हुन् । उनका पिता जादुलाल कुशवाहाले लामो समयसम्म गाविस अध्यक्षका रूपमा सेवा गरेका थिए । त्यसैगरी उनका भाइ चन्दन कुशवाहा हाल कटहरिया नगरपालिकाको वडा अध्यक्षका रूपमा कार्यरत छन् ।
परिवार नै राजनीतिक विरासत बोकेको हुँदा कुशवाहालाई चुनाव जित्न सहज हुने एमाले कार्यकर्ताहरूको बुझाइ छ । स्थानीय स्तरमा लामो समयदेखि सक्रिय रहँदै आएका कारण कुशवाहाको राम्रो जनसम्पर्क र सांगठनिक पकड रहेको बताइन्छ ।
यतिबेला कुशवाहा घरदैलो अभियान, चुनावी सभा र छलफलमार्फत मतदातासँग प्रत्यक्ष संवादमा छन् । विकासका मुद्दा नै आफ्नो जितको आधार हुने दाबी गर्दै आएका उनी रौतहट क्षेत्र नं ३ लाई समृद्ध र विकसित बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा होमिएका छन् ।
अब मतदाताले कसलाई विश्वास गर्छन् भन्ने निर्णय निर्वाचन परिणामले गर्नेछ । रौतहट क्षेत्र नं ३ को चुनावी प्रतिस्पर्धा यतिबेला चासोको विषय बनेको छ ।








