रौतहट,११ माघ ।नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ बाट देवप्रसाद तिमल्सिना प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । तेस्रोपटक संसद्‌मा पुग्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका तिमल्सिनाका लागि यसपटकको निर्वाचन सजिलो भने छैन । यद्यपि लामो राजनीतिक अनुभव, स्थानीय मुद्दाप्रतिको प्रतिबद्धता र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण उनी जितप्रति ढुक्क देखिएका छन् ।
यसअघि दुईपटक प्रतिनिधिसभामा पुगिसकेका तिमल्सिनाले एकपटक पराजयको स्वाद पनि चाखिसकेका छन् । हार–जित दुबै अनुभूति बटुलेका उनी यसपटक भने रौतहटका जनताको आवाज तेस्रोपटक संसद्‌मा बुलन्द बनाउने अठोटका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । आफूले विगतमा उठाएका मुद्दा र अझै पूरा गर्न बाँकी रहेका विकासका कामकै कारण पुनः उम्मेदवारी दिएको तिमल्सिनाको भनाइ छ ।
‘भुई मान्छेको नेता’ का रूपमा परिचित तिमल्सिनाको पहुँच आम नागरिकसम्म सहज रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । जिल्ला सदरमुकामदेखि दुर्गम गाउँसम्म सर्वसुलभ रूपमा भेटिने नेता भएकै कारण उनलाई चुनाव हराउनु सहज नभएको उनीहरूको बुझाइ छ । सांसद हुँदा तिमल्सिनाले रौतहटका साना–ठूला जनजीविकासँग जोडिएका विषयलाई संसद्‌मा गाउँले शैलीमै उठान गर्ने गरेका थिए ।
तर यसपटकको चुनावी प्रतिस्पर्धा भने उनीका लागि चुनौतीपूर्ण छ । विगतमा सँगै काम गरेका र निकट मानिएका केही कांग्रेस कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी सोही पार्टीबाट उम्मेदवार बनेपछि चुनाव रोचक मोडमा पुगेको छ । यसले कांग्रेसको परम्परागत मतमा असर पार्न सक्ने आँकलन गरिए पनि तिमल्सिना भने आफ्नो राजनीतिक पकड बलियो रहेको दाबी गर्छन् ।
‘मैले संसद्‌मा रौतहटका सडक, शिक्षा, स्वास्थ्य, सिँचाइ र आम जनजीविकाका विषयहरू निरन्तर उठाएँ । अझै धेरै काम बाँकी छन्, ती पूरा गर्न फेरि जनताको सेवा गर्ने मौका चाहेको हुँ,’ तिमल्सिनाले बताएका छन् ।
यतिबेला सामाजिक सञ्जालमा तिमल्सिनाले संसद्‌मा उठाएका रौतहटका मुद्दाका भिडियो क्लिपहरू कांग्रेस कार्यकर्ताहरूले सक्रिय रूपमा पोस्ट गरिरहेका छन् । ती भिडियोहरूमा तिमल्सिनाले सरल, स्पष्ट र जनताको भाषा प्रयोग गर्दै संसद्‌मा विषय उठाएको देख्न सकिन्छ, जसले उनलाई आम मतदातासँग अझ नजिक बनाएको कार्यकर्ताहरूको भनाइ छ ।
रौतहट क्षेत्र नम्बर ४ को समग्र विकासका लागि आफूले दीर्घकालीन सोचका साथ काम गर्न बाँकी रहेको भन्दै तिमल्सिना यसपटक पनि जनताले विश्वास गर्नेमा आशावादी छन् । राजनीतिक प्रतिस्पर्धा तीव्र भए पनि अनुभव, जनसम्पर्क र मुद्दाको बलमा जित सुनिश्चित हुने विश्वास उनीमा देखिन्छ ।