गरुडा ,२० माघ — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ४ चुनावी चहलपहलले थप तातेको छ। नेकपा एमालेका तर्फबाट प्रतिस्पर्धा गरिरहेका युवा उम्मेदवार रामजी शाहले मंगलबार गरुडा नगरपालिकाको वडा नम्बर ३ मा घरदैलो तथा मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी प्रतिवद्धता र विकासका योजना सार्वजनिक रूपमा प्रस्तुत गरे। स्थानीय बस्ती–टोलमा गएर गरिएको प्रत्यक्ष भेटघाटमा शाहले रौतहटको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै दीर्घकालीन समाधानसहितका कार्यक्रमको खाका बाँडे।
शिक्षालाई विकासको मूल आधारका रूपमा प्रस्तुत गर्दै शाहले रौतहट अझै पनि शैक्षिक क्षेत्रमा पछाडि परिरहेको उल्लेख गरे। विद्यालयको भौतिक संरचना, गुणस्तरीय शिक्षा, दक्ष शिक्षकको अभाव र विद्यार्थीहरूको भविष्य–उन्मुख अवसरको कमी प्रदेशकै चुनौती भएको उनले बताए। आफू निर्वाचित भएमा जिल्लामा प्राविधिक र सीपमूलक शिक्षा विस्तार, सरकारी विद्यालयहरूमा आवश्यक सुधार, विद्यार्थीवृत्ति तथा शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उनले स्पष्ट बताए। “रौतहटका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाए मात्र समुन्नतिको बाटो खोलिन्छ,” उनले मतदातालाई सम्बोधन गर्दै भने।
शाहले क्षेत्रीय असमानताबारे पनि कडा आवाज उठाए। उनका अनुसार हालका धेरै उम्मेदवारहरू चन्द्रपुर नगरपालिका केन्द्रित भएकाले तल्लो भेगका बस्तीहरूको समस्या लामो समयदेखि उपेक्षित हुँदै आएको छ। उनले तल्लो भेगका मतदाताको प्रतिनिधित्व कमजोर हुनु नै विकास रोकिएको मुख्य कारण भएकाले अब आफ्नो पक्षमा एकजुट हुन आग्रह गरे। “यो क्षेत्रको आवाज बलियो बनाउन नयाँ पुस्ताको प्रतिनिधि आवश्यक छ,” उनले भने, “तपाईंहरूले साथ दिनुभयो भने तल्लो भेगका मुद्दाहरू पहिलोपटक शक्तिका केन्द्रमा पुर्याउनेछु।”
समर्थकहरूको भीडबीच आफू युवा, ऊर्जाशील र सक्षम उमेदवार भएको दाबी गर्दै उनले विकासमुखी राजनीतिलाई मुख्य एजेन्डा बनाउने बताए। अहिले जनताले मागिरहेको राजनीति पार्टीभन्दा पनि काम गर्ने चरित्रको भएको भन्दै शाहले पारदर्शिता, जवाफदेहिता र जनतासँग नियमित संवाद राख्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे। सडक, स्वास्थ्य, कृषि, रोजगार, खानेपानीजस्ता जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठाउने र आवश्यक योजनाका लागि केन्द्र सरकारसँग दवाब सिर्जना गर्ने उनको योजना छ।
घरदैलो कार्यक्रममा सहभागी मतदाताले शाहसँग आफ्ना समस्या खुलेर राखे। स्थानीयहरूका अनुसार वर्षौंको उपेक्षाबाट थाकेका जनताले अब सक्षम र व्यवहारिक नेतृत्व खोजिरहेका छन्। शाहले पनि “मत माग्न मात्र होइन, तपाईँका समस्या सुन्न आएको हुँ,” भन्दै चुनावपछि पनि जनतासँगको सम्बन्ध निरन्तर रहने आश्वासन दिए।
उनको चुनावी अभियान क्रमिक रूपमा विस्तारित गरिएको छ र आगामी दिनमा क्षेत्रका सबै पालिकामा पुगेर प्रत्यक्ष संवाद गर्ने योजना रहेको शाहको टीमले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा शाहको सक्रियता, भाषण शैली र विकासका स्पष्ट एजेन्डाले मतदातामाझ सकारात्मक प्रभाव परेको देखिन्छ।








