रौतहट । मिटरब्याज प्रकरणमा रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी रामबाबु प्रसाद कलवारमाथि गम्भीर आरोप लागेको छ। मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल (भोजपुरा कमाण्ड) ले सार्वजनिक गरेको विवरणअनुसार कलवारले किसान, मजदुर तथा साना व्यवसायीलाई उच्च ब्याजदरमा ऋण दिई लामो समयदेखि आर्थिक शोषण गरेको आरोप छ।
आन्दोलनका अनुसार कलवारले मिटरब्याजमार्फत ऋणीहरूलाई चक्रवृद्धि ब्याजमा फसाई उनीहरूको घरजग्गा कब्जा गर्ने, विभिन्न फर्जी कागजात तयार गरी सम्पत्ति आफ्नो नाममा सार्ने तथा दबाबमूलक व्यवहार गर्ने गरेको पीडितहरूको गुनासो छ।
पीडितहरूले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दर्ता गराए पनि प्रभाव र पहुँचका कारण अहिलेसम्म प्रभावकारी कारबाही हुन नसकेको आरोप लगाइएको छ। आन्दोलनले यस विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न राज्यसँग माग गरेको छ।
यस्तै, मिटरब्याजका कारण पीडित बनेकाहरूको सम्पत्ति फिर्ता गराउन तथा उनीहरूलाई न्याय दिलाउन विशेष पहल गर्नुपर्नेमा आन्दोलनले जोड दिएको छ।
आन्दोलनका प्रतिनिधिहरूले रामबाबु प्रसाद कलवारको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै यस्ता गतिविधिमा संलग्न सबैमाथि कानुनी कारबाही नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।