रौतहट । मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल (भोजपुरा कमाण्ड) ले देशभर मिटरब्याज पीडितको पक्षमा आवाज उठाउँदै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।
आन्दोलनले लामो समयदेखि मिटरब्याजका कारण किसान, मजदुर तथा साना व्यवसायीहरू गम्भीर आर्थिक तथा सामाजिक उत्पीडनमा परेको उल्लेख गर्दै राज्यले प्रभावकारी रूपमा समस्या समाधान गर्न नसकेको आरोप लगाएको छ।
जारी विज्ञप्तिमा मिटरब्याज पीडितहरूले न्याय नपाउँदा निराशा बढ्दै गएको, अदालत र प्रशासनमा समेत प्रभावका कारण पीडितको पक्षमा निर्णय हुन नसकेको गुनासो गरिएको छ। पीडितहरू विस्थापित हुने, आत्मसम्मान गुमाउने तथा सामाजिक रूपमा अपमानित हुने अवस्थासम्म पुगेको आन्दोलनको दाबी छ।
आन्दोलनका अनुसार देशका विभिन्न जिल्लामा हजारौं पीडितले साहु–महाजनविरुद्ध उजुरी दिएका छन्। तर ती उजुरीमाथि निष्पक्ष छानबिन र कारबाही हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि जनाइएको छ।
यसैबीच आन्दोलनले मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि विभिन्न माग अघि सारेको छ। जसअनुसार मिटरब्याजसँग सम्बन्धित सबै किसिमका फर्जी कागजात खारेज गर्नुपर्ने, मिटरब्याजलाई अपराध घोषणा गर्दै कडा कानुन ल्याउनुपर्ने, विशेष न्यायाधिकरण गठन गरी छिटो न्याय दिनुपर्ने माग गरिएको छ।
त्यस्तै, पीडितको नाममा गैरकानुनी रूपमा हडपिएको सम्पत्ति फिर्ता गरिनुपर्ने, साहु–महाजनमाथि कडा कारबाही गर्नुपर्ने तथा पीडितलाई क्षतिपूर्ति र पुनर्स्थापना सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारिएको छ।
आन्दोलनका भोजपुरा इन्चार्ज शिवशंकर महतोले मिटरब्याज पीडितको समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै देशव्यापी दबाबमूलक कार्यक्रम सञ्चालन गरिने बताए।
उनले राज्यले समयमै ठोस कदम नचाले अझ सशक्त आन्दोलनमार्फत सरकारलाई झक्झक्याउने चेतावनी समेत दिए।