गौर,१२ भदौ / असार अन्तिम साता परेको पानीले जलमग्न रौतहटमा यतीबेला आकाशे पानी नपरेका कारण धान खेतमा धाजा फाटन थालेको छ । पानी कम पर्दा देशभरी नै गर्मी बढेसंगै रौतहटको दक्षिणी भेगका खेतमा सिंचाईको लागि पानी नहुदा धान खेतमा धाजा फाटन लागेको हो । पानी कम परेको र बादल पनि कम लागेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । तत्काल नै ठूलो पानी पर्ने कुनै प्रणाली नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद् वरुण पौडेलले बताए । तर पहाडी भेगका थोरै ठाउमा भने हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । मनसुनी न्यूनचापीय रेखा (मनसुनको समयमा वर्षा हुने प्रणाली) नेपालबाट दक्षिणतर्फ रहेकाले कम पानी परेको हो । तर स्थानीय वायुको प्रभावले पहाडी भेगको थोरै ठाउँमा भने चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाको भनाइ छ । उहाका अनुसार थोरै ठाउँमा हल्का पानी परे पनि अझै केही दिन गर्मी घट्ने सम्भावना भने छैन ।बुधबार देशैभर आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।