अशोक पहाडी
रौतहट,९ जेठ । जेलमा रहेका राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले छापा मारेको छ ।
बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महताव अफताब आलमका भाइ हुन् ।
बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले छापा मारेको रौतहटका एसपी रविराज खडकाले जानकारी दिएकाछन् ।
खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरे पछि प्रहरीले हवाई फायर समेत गरेको उनले बताए ।
अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाइ फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।
राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।