मुम्बई— भोजपुरी नायिका रानी चटर्जीले मंगलबार सोसल मिडियामा चकित पारिदिने खुलासा गरेकी थिइन् । उनले आफू डिप्रेशनसंग जुधिरहेको र अब आफूमा हिम्मत बांकी नरहेको बताएकी छिन् । उनले आत्महत्या गर्ने कुरा पनि कोट्याएकी छिन् । यी सबका लागि रानी चटर्जीले धनंजय सिंहका नामका व्यक्तिलाई जिम्मेवार देखाएकी छिन् । रानी चटर्जीले आफ्नो फेसबुक पेजमा लेखिन्, डिप्रेशनमा म असाध्यै धेरै डिस्टर्ब भइसकेकी छु । म धेरैजसो बलियो भइरहन र सकारात्मक सोच हुनुपर्ने विषयमा कुरा गरिरहन्छु तर अब मेरो सोच, मेरो धारणा फेल खाइरहेको छ । यी व्यक्तिले थुप्रै वर्षदेखि मेरा बारे कस्ता कस्ता फोहोरी कुरा फेसबुकमा लेखिरहेका छन् । मैले यसलाई वास्ता नगर्न कोसिस गरे । मैले थुप्रै मानिसहरुसंग यसबारे कुरा पनि गरें । सबैले वास्ता नगर्न सुझाए तर म पनि एक व्यक्ति नै हुं । म मोटी छु, बुढी छु वा म केही काम गर्छु भन्दैमा यी व्यक्तिले यस्ता भद्दा कुरा लेख्न मिल्छ ? मलाई सबैले यस्ता कुरा पठाउ“छन् र वास्ता नगर्न भन्छन् । अब मेरो सहनशीलता गुमिसकेको छ । नायिका थप लेख्छिन्, म थुप्रै वर्षदेखि यो कुराको कारण निकै चिन्तित भइसकेकी छु । मानसिक तनावसँग गुज्रिसकेकी छु । उनले सायद मैले आत्महत्या गरोस् भन्ने चाहन्छन् । उनकै कारण मेरो नीजि जीवनमा पनि अत्यधिक तनाव छ । मुम्बई प्रहरीसंग मेरो यो अनुरोध छ कि मैले केही गरिहालें भने यसको जिम्मेवार धनञ्जय सिंह नै हुने छन् ।