चन्द्रपुर,१८ असार । रौैतहटको चन्द्रपुर नगरपालिकामा कालोपत्रे सडक निर्माण योजना मापदण्ड र ल्याब परिक्षण बिनानै काम गरिँदै आएको छ । जसका कारण सडकको गुणस्तरमा प्रश्नचिन्ह खडा भएको छ ।
कालोपत्रे सडक निर्माण योजनामा मापदण्ड र प्राविधिक ईष्टिमेट बमोजिम काम गर्नुपर्नेमा उपभोक्ता समिति र ठेकेदारको मिलोमतोमा गुणस्तरमा ख्याल नगरी धमाधम सडक निर्माण कार्य हुँदै आएको छ । असारमा जसरी पनि काम सक्नुपर्छ भन्दै मनलाग्दी हिसावले प्राविधिक ईष्टिमेट र सामग्रीको खपतमा कन्जुस्याई गर्दै यहाँ सडक निर्माण गरिँदै आएको पाइएको हो । प्रयोगशालामा सडक बनाउन प्रयोग हुने सामग्रीको परिक्षण नगर्नु र प्रयोग गरिने अलकत्राको परिक्षण रिपोर्ट बेगर नै पीच बनाउने काम हुँदै आएको छ ।
त्यसको उदाहरण हो,चन्द्रपुर नपा वडानम्वर एकस्थित पौराई ब्रम्हस्थान जाने सडक कालोपत्रे गर्ने कार्य । यहाँ ल्याव परिक्षण नगरिकनै अलकत्रा हालेर पिच बनाउन लागिएको हो । प्राविधिक ईष्टीमेट विपरीत काम गरिएको स्थानीयको गुनासो छ ।
सो सडक कालोपत्रे गर्ने काम तोकिएको मापदण्ड र प्राविधिक हिसाब बिपरीत भएकोमा स्थानीयबासीले असन्तुष्टि ब्यक्त गरेका छन् । कुल २४ लाख रुपैयाँको लागतमा बन्न लागेको सो सडकको लम्वाई तीन सय २५ मिटर रहेको छ ।
सडक निर्माणका क्रममा गुणस्तरमा कुनै सम्झौता नगरिने चन्द्रपुर नगरपालिकाका ईन्जिनियर भरत श्रीवास्तवले जानकारी दिनुभयो । तर,उक्त सडक बनाउन प्रयोग हुने कच्चा पदार्थको प्रयोगशालामा परिक्षण बेगर नै कालोपत्रे हुन लागेको हो । प्र्राविधिकका अनुसार,कालोपत्रे गर्दा सब ग्रेडिङ्ग अर्थात ग्रेडर मेशिनद्धारा लेवल मिलाइन्छ । यसपछि ग्रेभल हाल्ने र पानी सहित रोलिङ्ग गरिन्छ जसलाई सवबेस कोर्ष भनिन्छ । त्यसपछि क्रसरको क्रसिङ्ग गिट्टीलाई पानीसहित पेलिन्छ,यो बेसकोर्ष हो । बेसकोर्षमा प्रयोग भएको सामग्री कमसल वा सहि र डेनसिटी पुग्या छ वा छैन् भन्ने निक्र्याेल गर्न प्रयोगशालामा पठाउनुपर्छ । सवै सहि छ भने मात्रै अलकत्रा हाल्ने काम गर्न पाइन्छ,यसलाई प्राईम कोट भनिन्छ ।
प्राइम गर्नुअघि नेपाल सरकारले परिक्षण गरेको अलकत्राको रिपोर्ट सम्वन्धित ईन्जिनियरलाई पेश गर्नुपर्छ । तर यहाँ त्यस बिपरीत कामहरु गरिएका छन् । ईन्जिनियर श्रीवास्तवले ल्याव परिक्षण ल्याउन भनेको तर हालसम्म रिपोर्ट आइनसकेको बताउनुभयो ।
चन्द्रपुर नगरपालिकामा सन्चालित धेरैजसो पिच बनाउने योजनामा उपभोक्ता समितिले सामग्रीको ल्याव परिक्षण र अलकत्राको गुणस्तरमापन अनुमतिपत्र बेगर नै कालोपत्रे गर्ने काम गरेको पाइएको छ । ठेकेदारले उपभोक्ता समितिका पदाधिकारीलाई निश्चित प्रतिशत आर्थिक लाभ दिने र ठेकेदारले आफुखुसी काम गर्दा गुणस्तरमा शंका उब्जिएको हो ।
चन्दपुर नगरपालिकाको उपाध्यक्ष तथा अनुगमन संयोजक रामरती चौधरीले मापदण्ड बिपरीत गुणस्तरहीन काम गरेमा समितिलाईृ रकम भुक्तानीमा सिफारस नदिने बताउनुभयो । योजनाको रकम भुक्तानीमा नगरपालिकामा उपमेयरसहित पाँच जना अनुगमनकर्ताको हस्ताक्षर हुनुपर्ने प्रावधान छ ।