गौर, २९ साउन । रौतहटमा समुदायस्तरमै कोरोना संक्रमण बढेपछि रौतहटका सर्वसाधारण चिन्तामा परेका छन् । अहिले दैनिक रुपमा कोरोना संक्रमित बिरामी थपिन थाले पछि रौतहटमा एक घर एक जाँच अघि बढाउन तथा प्रयोगशालाको व्यवस्थापन गर्न सामाजिक संजालमा चर्को आवाज उठेको छ । रौतहटबाट निर्वाचित भएर केन्द्र, प्रदेश तथा पालिकाहरुमा नेतृत्व गरिरहेका कसैले पनि रौतहटका जनताको भावना नबुझेको भन्दै सामाजिक संजालहरुमा नेताहरु प्रति चर्को आक्रोश समेत व्यक्त हुन थालेको छ । रौतहटका चार निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा, प्रदेश सभा सदस्य, राज्यमन्त्री कसैले पनि महामारी फैलिरहेको बेला रौतहटका जनताको स्वास्थ्यको परवाह नगरेको आरोप स्थानियको छ । हरेक आर्थिक वर्ष करोडौंको बजेट चलाउने स्थानिय पालिकाका प्रमुख देखी केन्द्रीय प्रतिनिधिले एउटा पिसिआर मेशिन र प्रयोगशालाको व्यवस्था गराउन नसक्दा निराश बनेका स्थानियले आफैले चन्दा संकलन गर्ने प्रस्तावहरु समेत सामाजिक संजालमा राखेका छन । विगत चार दिनमा रौतहटमा ६२ जनामा संक्रमण पुष्टी भएको छ । यसअघि आइतवार गौरमा १५ जना, सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा तथा मंगलवार गरुडाका ११ जना र चन्द्रपुरका ५ जनामा संक्रमण देखिएको थियो । यसरी दिनहु संक्रमण बढदै जाँदा स्वाब परिक्षणको दायरा समेत बढाउनु पर्ने आवश्यक्ता रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पर्याप्त मात्रामा भिटिएम नहुंदा स्वाब संकलनको काम समेत प्रभावित बनेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । “माँग गरे जतिको भिटिएम प्राप्त हुन नसके पछि परिक्षणको दायरा बढाउन सकिएको छैन ।” जनस्वास्थ्य प्रमुख साहले भने “ल्याबहरुमा परिक्षणको चाँप बढेकोले नतिजा प्राप्त हुन समय लाग्ने गरेको छ ।” सामाजिक संजालमा विभिन्न पक्षधरहरुले एकअर्का प्रति दोषारोपण गर्नु भन्दा सबै मिलेर प्रयोगशाला व्यवस्थापन जोड दिनु पर्ने आवश्यक्ता रहेको छ । हाल रौतहटमा संकलन भएका स्वाबहरु प्रदेश ३ को हेटौडाको प्रयोगशाला, वीरगंज तथा केन्द्रीय प्रयोगशाला काठमाण्डौमा परिक्षण हुदै आएको छ । अहिले अधिकांश नेताहरु होम क्वारेन्टाइनमा बसेका छन ।