रौतहट,३१ भदौ / केही महिना पहिला सम्म भरीभराउ रहेका जिल्लाका क्वारेन्टीन यतीबेला खाली भएकाछन् । कोरोना कहर बिस्तारै हटदै जान थालेको अनुमान हुदै जान थालेको छ । रौतहटका स्थानिय तहले बनाएका क्वारेन्टिनमा अहिले रित्तिएका छन् । जिल्लाभर क्वारेन्टीन अहिले एक जना नरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । तर जिल्लामा हाल भने एक सय बेडको क्वारेन्टीन मात्रै सञ्चालनमा छ ।
भारत र बाहिरी देशबाट आएकाहरू घर फर्केपछि क्वारेन्टीन रित्तो भएको हो । सुरुमा भारतबाट घर फर्केर क्वारेन्टीन बसेकामा मात्र संक्रमण देखिए पनि अहिले समुदायमै रहेकामा पनि संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिलेसम्म १७ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ भने १५ सय ६२ जना निको भएर घर फर्किसकेका छन् । समुदायमै रहेकामा पनि संक्रमण पुष्टि भएपछि हाल १ सय ९३ जना आइसोलेसनमा छन् । स्थानीय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतमा पनि कोभिड १९ को संक्रमण देखिएको छ । कोरोनाका कारण रौतहटमा पा“च जनाको मृत्यु भै सकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।
यता रौतहटका थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । बैकका कर्मचारी, सुरक्षाकर्मी र स्थानियमा संक्रमण देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक गरुडा र सिभिल बैंक गरुडाका ४÷४ जनामा कोरोना संक्रमण देखिएको हो । सशस्त्र प्रहरी हजमिनियाका दुई र गरुडा इलाका प्रहरी कार्यालयमा एकजना संक्रमित थपिएका छन् । गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना , माधवनारायण नगरपालिका वडानं. ३ र ४ मा १÷१ जना गरी २ र चन्द्रपुर नगरपालिकाका वडा नं. ६ मा एक जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । २ सय ९० जनाको स्वाब परीक्षण गर्दा रौतहटका २३ र बाराका ३ जनामा कोरोना देखिएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार २ जना महिला सहित २६ जनामा संक्रमण पुष्टि भएको हो ।