रौतहट, ६ असोज । आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने भएकाले ११ गतेसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान गरिएको छ । यद्यपि पानीको सतह सतर्कताको चिह्नभन्दा तलै रहने अनुमान छ । त्यसैले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी टटीय क्षेत्रमा कृयाकलाप नगर्न वा गर्नैपरे सतर्कता साथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको मापनअनुसार पनि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो अवस्थामा छ । आज कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा बहाव बढ्ने पूर्वानमान गरिएको छ ।