रुपेन्द्र पटेल
चन्द्रपुर,१९ असोज । रौतहटको बिभिन्न स्थान भएर चल्ने यात्रुबाहक सवारी साधानले सरकारी मापदण्डको नाममा डबल भाडा असुल्ने गरेको भएपनि गाडीमा सवारी भने कोचम कोच बोक्ने गरेका छन् । वीरगंज जनकपुर चल्ने अधिकांस यात्रु बाहक बसले डबल भाडा लिएपनि सरकारी मापदण्ड अनुसार यात्रु नबोक्ने गरेको पाईन्छ । यस तर्फ राजमार्गमा बस्ने ट्राफिक प्रहरीले समेत ध्यान नदिएको यात्रुहरुको भनाइ रहेको छ । असोज १ गतेदेखि सञ्चालनमा आएको सार्वजनिक यातायात अन्तर्गत वीरगंजबाट सञ्चालित बस, टाटासुमोका सञ्चालकहरूले यात्रीहरूलाई ठगिरहेका छन् । सरकारले तोकिएको भाडादरमा पचास प्रतिशत थपेर सिट संख्याको आधा मात्र यात्री ओसार्न अनुमति दिएकोमा अहिले दोब्बर–तेब्बर भाडा लिने र सिट संख्या अनुसार यात्री राख्ने गरिएको पाइएको छ । सुरूका दिनमा बस र टाटासुमोले सरकारले तोके अनुसारको सिटमा बढी भाडा लिएर यात्रीहरूलाई ठगेको थियो । असोज ५ गतेदेखि आन्तरिक उडान शुरू भएपछि विमानमा सिट अनुसारको यात्री राखिएको कारण बस र टाटासुमोले पनि सिट अनुसार यात्रुहरू राख्न शुरू गरेका छन् । रौतहटबाट काठमाडौं सञ्चालन हुने टाटासुमोले चर्को भाडा लिने गरेको यात्रीहरूले गुनासो गरेका छन् । रु ५३० भाडा रहेकोमा सरकारले पचास प्रतिशत वृद्धि गरेर सिट संख्याको आधा यात्रु राखी सञ्चालनको अनुमति दिएको हो । सो अनुसार अहिले टाटासुमोको भाडा रु ८ सय हुनुपर्नेमा १५ सयदेखि २ हजार रुपैयासम्म लिने गरेको यात्रीहरूले गुनासो गरेका छन् । यसैगरी, बसले पनि तोकेकोभन्दा बढी भाडा लिने र सिट संख्या अनुसार यात्री ओसारिरहेको छ । विभिन्न स्थानमा प्रहरी, ट्राफिकले चेकजा“च गरे पनि उनीहरूलाई प्रभावित पारेर सेवा सञ्चालन भएको यात्रीहरूले गुनासो गरे । वीरगंजबाट काठमाडौं, पोखरा, नारायणगढ, जनकपुरसम्म सबैभन्दा बढी बससेवा सञ्चालनमा छ भने देशभरिका विभिन्न स्थानमा पनि यहांबाट बससेवा सञ्चालन हुने गरेको छ ।
यात्रीहरूले चर्को भाडा र तोकिएको मापदण्ड पूरा नगरेकोमा स्थानीय प्रशासनलाई अनुगमन गरेर दण्डित गर्न आग्रह गरेका छन् ।