गौर,१३ बैशाख ।
रौतहटको सदरमुकाम गौरका होटल तथा मदिरा व्यवसायीहरूले बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् । होटल तथा मदिराको व्यापार हुने समयमै प्रहरीले लौरो लाउन थालेपछि गौरका व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रहरी प्रशासनले बेलुका ८ बजेपछि मदिरा तथा होटल व्यवसाय बन्द गराउन थालेपछि रौतहटको गौरका होटल व्यवसायी तथा मदिरा व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीलाई त्यसो नगर्न भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
८ बजेपछि नै मुख्य ग्राहक आउने समय भएको र त्यही समयमा प्रहरी आएर होटल तथा पसल बन्द गराउन थालेपछि आफूहरु मारमा परेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । रौतहट सहित देशमा बढ्दो आर्थिक संकटको अवस्थालाई मध्यनजर गर्दै साँझ १०बजेर ३० मिनट सम्म आफूहरुलाई होटल तथा मदिरा पसल खोल्न दिन माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष पण्डित प्रसाद जयसवालको अध्यक्षतामा गएको होटल तथा मदिरा व्यवसायीहरूको टोलीले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो। भारतसँग सीमा जोडिएको रौतहटको सदरमुकाम गौरमा मदिरा सेवन गर्नका लागि अधिकांश भारतीय ग्राहकहरू साँझको समयमा गौरमा आउने गरेका छन् । यसबाट यहाँको व्यापार व्यवसाय समेत बढेको र प्रहरीले साँझ नपर्दै लौरो लाएर पसल बन्द गराउन थालेपछि आफूहरु संकटमा पर्ने भन्दै व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले बताए । २०८१ बैशाख १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।