रौतहट,१९ भदौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरमा साक्षरता दर प्रदेशगत रूपमा फरक–फरक देखिएको छ । तीमध्ये सबैभन्दा कम साक्षरता दर मधेश प्रदेशमा रहेको छ ।
केन्द्रका अनुसार मधेश प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत मात्र छ । केन्द्रका निर्देशक दिनेश घिमिरेका अनुसार चेतनाको स्तर र अशिक्षाको कारण साक्षरता दर न्यून देखिएको हो । ‘सबै निरक्षर भने छैनन्, तर साक्षरता अझै बढाउनुपर्ने आवश्यकता छ । यसका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्,’ उनले बताए ।
प्रदेशगत हिसाबमा सबैभन्दा बढी साक्षरता दर बागमतीमा ८२ प्रतिशत रहेको छ । त्यसपछि गण्डकी ८१.७ प्रतिशत, कोशी ७९.७ प्रतिशत, लुम्बिनी ७८.१ प्रतिशत, सुदूरपश्चिम ७६.२ प्रतिशत र कर्णालीमा ७६.१ प्रतिशत साक्षरता दर रहेको केन्द्रले जनाएको छ ।
यस्तै, हालसम्म ६७ वटा जिल्ला साक्षर घोषणा भइसकेका छन् भने अझै १० जिल्लामा घोषणा गर्न बाँकी छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कालीकोट र डोल्पा जिल्लालाई साक्षर घोषणा गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।
निर्देशक घिमिरेका अनुसार हालसम्म बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश साक्षर घोषणा भइसकेका छन् भने लुम्बिनी, मधेश र कर्णाली प्रदेशमा साक्षर घोषणा प्रक्रिया अधुरो छ ।








