रौतहट,१४ माघ ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र प्रगतिशील समाजवादी पार्टीका साझा उम्मेदवारका रूपमा तुलसीराज गिरी प्रतिनिधिसभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर–४ बाट चुनावी मैदानमा उत्रिएका छन्।
हाल प्रगतिशील समाजवादी पार्टीका अध्यक्ष रहेका गिरी स्नातकोत्तर तहसम्म राजनीतिशास्त्र (M.A.) अध्ययन गरेका अनुभवी राजनीतिक कर्मी हुन्। उनी २०४३ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा युवा विद्यार्थीको तर्फबाट सक्रिय सहभागिता जनाएका गिरीले २०६२/६३ को जनआन्दोलनमा भने रौतहट जिल्लामै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। लोकतान्त्रिक आन्दोलन, राष्ट्रियता, महँगी नियन्त्रण तथा भ्रष्टाचारविरुद्धका आन्दोलनहरूमा उनले दुई दर्जनभन्दा बढी पटक प्रहरी हिरासत, दुई पटक सैनिक हिरासत र एक महिना नजरबन्द समेत भोगेका छन्।
करिब ३६–३७ वर्षसम्म नेकपा एमालेका विभिन्न कमिटीमा रहेर नेतृत्व गरिसकेका गिरीले पार्टीका नीति तथा निर्णयहरूप्रति असहमति जनाउँदै वैकल्पिक राजनीतिक धार निर्माणको उद्देश्यसहित नयाँ राजनीतिक अभियानमा आफूलाई समर्पित गरेका हुन्।
जनताले नयाँ नेतृत्व खोजिरहेको वर्तमान सन्दर्भमा, गिरी आफूलाई नयाँ पार्टीका तर्फबाट अनुभवी र परीक्षण भइसकेको नेतृत्वका रूपमा प्रस्तुत गरिरहेका छन्। सुशासन, समृद्धि, विकास, सामाजिक न्याय, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, भौतिक पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा आवश्यक संविधान संशोधन उनका प्रमुख एजेन्डा रहेका छन्।
“म कुरा होइन, काम गरेर देखाउने नेतृत्व हुँ,” गिरी भन्छन्, “जनताको भरोसा जित्न व्यवहारमै परिणाम देखाउनुपर्छ।”
उनले जेन–जी आन्दोलनका मागहरू पूरा गर्ने स्पष्ट प्रतिबद्धता जनाउँदै रौतहट क्षेत्र–४ मा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा राष्ट्रिय गौरवका योजना भित्र्याउन पहल गर्ने बताएका छन्।
स्थानीयस्तरमै विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै अगाडि बढेका गिरीको उम्मेदवारीलाई रौतहट–४ मा नयाँ राजनीतिक विकल्पका रूपमा हेरिएको छ।