रौतहट । एमाले उम्मेदवार रामजी साहले चन्द्रपुर–३ का मतदातासँग गरे भेटघाट
रौतहट । नेकपा एमाले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाको उम्मेदवारी दिएका रामजी शाहले चन्द्रपुर नगरपालिका–३ का मतदातासँगको भेटघाट तथा संवाद अभियानलाई तीव्र बनाएका छन्। अभियान अन्तर्गत उनले बिहीबार चुरेफेदीसहित वडा नम्बर ३ का विभिन्न बस्ती पुगेका हुन्।
चुरेफेदीका स्थानीय बासिन्दासँग कुराकानी गर्दै शाहले त्यस क्षेत्रमा वर्षौंदेखि जमेका जनजीविकासम्बन्धी समस्या, यातायात तथा विद्युत् जस्ता आधारभूत आवश्यकता र स्थानीय नागरिकका गुनासोहरू सुने। स्थानीयहरूले उठाएका समस्या ध्यानपूर्वक सुनेका शाहले आफू विजयी भए तत्क्षण समाधानका लागि पहल गर्ने स्पष्ट आश्वासन दिएका छन्।
चन्द्रपुर–३ र आसपासका बासिन्दासँगको प्रत्यक्ष संवादमा उनले विगतमा एमाले नेतृत्वको सरकारले अघि सारेका विकास योजनालाई स्मरण गराउँदै आगामी दिनमा अझ योजनाबद्ध रूपमा सेवा र विकासका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। शाहले भने, “स्थानीय समस्या समाधान मेरो पहिलो प्राथमिकता हुनेछ। विकासका कामले गति पाओस् भन्नुहुन्छ भने तपाईंहरूको साथ र विश्वास आवश्यक छ।”
भेटघाटमा सहभागी स्थानीय उपेन्द्र गोलेका अनुसार शाहले क्षेत्रका समस्याबारे विस्तृत रूपमा छलफल गरेका थिए र आफूले गर्न सक्ने सबै सहयोग गर्न तयार रहेको बताएका थिए। उनका अनुसार शाहको प्रत्यक्ष संवाद शैलीले स्थानीयहरूमा सकारात्मक प्रभाव पारेको छ।
एमालेको सूर्य ध्वजा लिएर मैदानमा उत्रिएका शाहले चन्द्रपुर नगरपालिका–३ मा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र वन–चुरेसम्बन्धी संवेदनशीलता जस्ता मुद्दालाई प्राथमिक एजेन्डा बनाएर मतदातासँग भेटघाट जारी राखेका छन्। दैनिक रूपमा विभिन्न टोलटोलमा पुगेर स्थानीयको आवाज सुन्दै आएका शाहले निर्वाचन अभियानलाई जनतामुखी बनाउने प्रयास गरिरहेका छन्।








