कटहरिया,२५ माघ । रौतहट क्षेत्र नम्बर ३ मा आसन्न प्रतिनिधि सभा निर्वाचनसँगै चुनावी गतिविधि तीव्र हुँदै गएको छ। सो क्षेत्रका नेकपा एमाले उम्मेदवार तथा पार्टी केन्द्रीय सदस्य कुन्दन कुशवाहाले आफ्नो घरदैलो तथा भेटघाट अभियानलाई थप सक्रिय बनाएका छन्। दैनिक दर्जनौँ टोल–बस्तीमा पुगेका उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै जनगुनासा र विकासका प्राथमिकता बुँदाहरू संकलन गरिरहेका छन्।
कुशवाहाले आफू जनताको बीचमै हुर्किएर आएका व्यक्तिका रूपमा स्थानीय समस्यासँग घनिष्ठ सम्बन्ध राख्ने दाबी गर्छन्। भेटघाटका क्रममा उनले गरिबी न्यूनीकरण, बेरोजगारी समाधान, गुणस्तरीय शिक्षा विस्तार, कृषिको आधुनिकीकरण र क्षेत्रीय पूर्वाधार निर्माण लाई आफ्नो प्रमुख चुनावी एजेन्डाका रूपमा अगाडि सारेका छन्। विशेषगरी युवाहरूका लागि रोजगारीका अवसर विस्तार र सीप–आधारित कार्यक्रम अघि सार्नुपर्ने आवश्यकता उनले बारम्बार दोहोर्याइरहेका छन्।
सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका कुशवाहाले स्थानीय स्तरमा उठेका माग र समस्या पार्टीको दीर्घकालीन नीति तथा राष्ट्रिय विकास रोडम्यापसँग मिलेका छन् भन्दै संरचनागत विकासमा गति ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले विद्यालयमा आवश्यक पूर्वाधारदेखि स्वास्थ्य–सेवाको पहुँच, किसानलाई प्राविधिक सहयोग, ग्रामीण सडक सुधार तथा नदी–कटान रोकथामजस्ता विषयलाई तत्काल समाधान आवश्यक पर्ने प्राथमिक समस्या मानेका छन्।
भेटघाटमा सहभागी सर्वसाधारणले कृषि, सिँचाइ, स्थानीय रोजगारी, यातायात सहजता, खानेपानी तथा विद्युत् जस्ता विषयहरूमा ध्यानाकर्षण गराएका छन्। ती मागहरू सुनेपछि कुशवाहाले क्षेत्रको दीर्घकालीन विकास योजनालाई व्यवस्थित रूपमा अघि सार्ने र निर्वाचनपछि जनतासँगै बसेर कार्यक्रम कार्यान्वयन गरिने बताएका छन्।
चुनावी माहोल चर्कंदै जाँदा रौतहट–३ मा उम्मेदवारहरूको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। कुशवाहाको अभियानले स्थानीय क्षेत्रमा विकास–बहसलाई केन्द्रमा ल्याएको विश्लेषकहरूको भनाइ छ। उनी आफैंले भने, “जनतासँग प्रत्यक्ष संवाद विकासको पहिलो आधार हो, त्यसैले म प्रत्येक टोलमा पुगेको छु,” भन्दै जनताको विश्वासका आधारमा आफू अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।