रौतहट,२२ फागुन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कुन्दन प्रसाद कुशवाहा अग्रस्थानमा देखिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार कटहरिया नगरपालिका–५ स्थित पनालाल धर्मशाला केन्द्रको मतगणना सम्पन्न भइसकेको छ। उक्त केन्द्रबाट गणना गरिएको कुल २४५ मतमध्ये एमालेका उम्मेदवार कुशवाहाले सबैभन्दा बढी १७८ मत प्राप्त गर्दै सुरुवाती अग्रता बनाएका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारले २० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले ९ मत पाएको छ। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारले ३८ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतगणनाबाटै एमाले उम्मेदवार कुशवाहाले स्पष्ट अग्रता लिएका छन्। यद्यपि यो सुरुवाती नतिजा मात्र भएकाले आगामी मतगणनाले समग्र परिणाममा परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ।
रौतहट–३ मा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ। मतगणना अहिले पनि निरन्तर जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।








