रौतहट, २२ फागुन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल अग्रस्थानमा रहेका छन्। हालसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा पौडेलले १ हजार १ सय ८ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन्।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार रुख चुनाव चिह्नले ५४६ मत प्राप्त गरेको छ भने तारा चिह्नले ३०७ मत पाएको छ। त्यसैगरी सूर्य चिह्नले ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
चुनावी प्रचारका क्रममा विभिन्न अनौठा तथा उटपट्याङ शैलीका गतिविधिका कारण चर्चामा आएका मोबाइल चुनाव चिह्नबाट चुनाव लडेका उम्मेदवार ऋषि धमलाको प्रदर्शन भने निकै कमजोर देखिएको छ। हालसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले जम्मा ६ मत मात्र प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये छाता चिह्नले १२ मत, हर्न चिह्नले १५ मत र माटो चिह्नले १ मत प्राप्त गरेका छन्। यस अवधिमा १ सय १६ मत बदर भएको जनाइएको छ।
हालसम्म गढीमाई नगरपालिका–९ इनरवाटोल धर्मशाला र गढीमाई नगरपालिका–१ समनपुरस्थित शंकर गुदुर माध्यमिक विद्यालयको मतदान केन्द्रको मतगणना सम्पन्न भइसकेको छ। बाँकी मतदान केन्द्रहरूको मतगणना क्रमशः जारी रहेको छ।
निर्वाचन अधिकृतका अनुसार मतगणना शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ र थप नतिजा आउने क्रम जारी रहनेछ।