रौतहट, ५ वैशाख।
रौतहटको चन्द्रपुर नगरपालिकामा चोरी भएको बोका सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चन्द्रपुर नगरपालिका–५ राजपेडा निवासी शिवम माझीको घरबाट वैशाख ३ गते राति एउटा बोका चोरी भएको थियो। सो घटनाबारे वैशाख ४ गते बिहान करिब ८:१५ बजे प्रहरीलाई सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको टोलीले खोजतलास सुरु गरेको थियो।
प्रहरीले खोजी गर्ने क्रममा चन्द्रपुर–५ स्थित नहर चौकबाट देवाही गोनाही नगरपालिका–६ उचिडिहका २७ वर्षीय विक्रम ठाकुरलाई चोरी गरिएको बोका सहित नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका ठाकुरमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।