सर्लाही, २२ फागुन ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंहले प्रारम्भिक अग्रता लिएका छन्।
प्रारम्भिक मतगणनाअनुसार रास्वपाका उम्मेदवार सिंहले ९७६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७४४ मत ल्याएका छन्। प्रारम्भिक परिणाममा सिंहले थापाभन्दा उल्लेख्य मतान्तरसहित अग्रता बनाएका हुन्।
मतगणना अहिले सिंहको गृहनगर रहेको बलरा नगरपालिकाबाट सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सो क्षेत्रको मतगणनामा अन्य दलका उम्मेदवारहरूले पनि उल्लेख्य मत प्राप्त गरेका छन्।
प्राप्त विवरणअनुसार जनमत पार्टीका उम्मेदवारले ५११ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १९५ मत ल्याएका छन्।
निर्वाचन अधिकृतका अनुसार मतगणना क्रमशः अन्य वडाहरूको मतपेटिका खोल्दै अघि बढाइँदैछ। प्रारम्भिक परिणाममा रास्वपा उम्मेदवार सिंह अगाडि देखिए पनि थप मतगणना बाँकी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।
यस क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको छ। मतगणना जारी रहेकाले परिणाममा फेरबदल हुन सक्ने सम्भावना पनि रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।