रौतहट, ९ चैत । केही दिनअघिसम्म आकाश छोएको सुनको भाउ अहिले भने लगातार ओरालो लाग्दै बजारमै ‘पहिरो’ गएको जस्तो देखिएको छ।
सोमबार बजार खुल्नासाथै सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार मात्रै १२ हजार ५ सयले घटेको भाउ सोमबार पनि थामिन सकेन।
साता दिनअघि मात्रै ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको सुन अहिले यसरी ‘धप्प’ खस्दा लगानीकर्ताको मुटु नै काँप्ने अवस्था आएको छ। अझ माघ १५ गते त सुनले इतिहासकै उच्च विन्दु ३ लाख ३९ हजार ३ सय छोएको थियो। त्यहीँबाट अहिलेको लगातार गिरावटले बजारलाई अस्थिर बनाउँदै लगेको देखिन्छ।
अन्तर्राष्ट्रिय परिस्थितिले पनि सुनलाई बच्न दिएन। मिडिल इष्टमा चर्किएको युद्धले तेलको भाउ आकासिँदा अमेरिकी डलर बलियो बन्न पुगेको छ। डलर बलियो बन्दै जाँदा लगानीकर्ताहरू सुन बेचेर डलर जोहो गर्नतिर लाग्दा सुनको भाउमाथि थप दबाब परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
त्यसमाथि विश्वव्यापी रूपमा बढ्दो मुद्रास्फीति र ब्याजदर बढाउने दबाबले पनि सुनचाँदी बजारलाई झन् कमजोर बनाएको छ।
सुनसँगै चाँदी पनि टिक्न सकेन। सोमबार चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन यही चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।
बजारको यो ओरालो यात्राले अब सुन ‘सेफ’ लगानी हो कि होइन भन्ने प्रश्नसमेत उठ्न थालेको छ।








