गौर, ९ चैत ।
गौर नगरपालिकाका जनप्रतिनिधिहरुको लापरबाहीका कारण बजार क्षेत्र दिनप्रतिदिन कुरुप बन्दै गएको छ भने सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन्।
करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको बसपार्क प्रयोगविहीन जस्तै बनेको छ, तर विडम्बना के भने मुख्य चोक घण्टाघर वरिपरि नै बस, म्याजिक तथा ईभी गाडीहरुबाट सार्वजनिक यातायात सञ्चालन भइरहेको दृश्यले नगरको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।
बसपार्क हुँदाहुँदै पनि सडकमै सवारीको ‘स्ट्यान्ड’ बनाइनु नगरपालिकाको नियमन क्षमतामाथि ठाडो प्रहारजस्तै देखिएको छ। मुख्य चोकमै सवारीसाधन रोकिने, यात्रु चढाउने–ओराल्ने काम खुलेआम भइरहँदा बजार क्षेत्र अस्तव्यस्त बनेको छ भने पैदलयात्रीहरू जोखिम मोलेर हिँड्न बाध्य छन्।
स्थानीयवासीका अनुसार बसपार्क सञ्चालनमा ल्याउने विषयमा नगरपालिका मौन बस्दा घण्टाघर क्षेत्र ‘अनौपचारिक बसपार्क’ मा परिणत भएको छ। “करोडौं खर्च गरेर बनाएको बसपार्क धुलो खान्छ, अनि सवारी चाहिँ सडकमा कुद्छन्,” एक स्थानीयले आक्रोश पोखे।
यातायात व्यवसायी र नगरपालिकाबीचको समन्वय अभावका कारण समस्या झन् जटिल बन्दै गएको देखिन्छ। सम्बन्धित निकायको बेवास्ताले बजारको सौन्दर्य मात्र होइन, दैनिक जनजीवनसमेत प्रभावित भएको छ।
यदि समयमै नियन्त्रण नगर्ने हो भने गौरको बजार क्षेत्र अझै अस्तव्यस्त र अव्यवस्थित बन्ने निश्चित देखिन्छ। अब पनि नगरपालिका जिम्मेवार बन्छ कि ‘हेरेर बस्ने’ नीति नै निरन्तर राख्छ — स्थानीयवासीले यही प्रश्न उठाएका छन्।