तस्करहरूको ‘स्वर्ग’ बन्दै गएको देखिएको छ । चोर नाकाबाट दैनिक लाखौंको अवैध कारोबार हुँदा सुरक्षा निकाय भने मौन दर्शकजस्तै देखिएका छन् ।
सग्रामपुर, पर्सा, त्रिभुवननगर, गोरखकाली, भाँडसर, बारा उधोरण, सिमरा, मधुवनी, अर्नाहा लगायतका दर्जनौं नाकाबाट नेपाल–भारत दुवैतर्फ अवैध सामान ओसारपसार भइरहेको स्रोतको दाबी छ । “दिनमै लाखौंको खेल हुन्छ,” एक स्थानीय भन्छन्, “तर रोक्ने कोही छैन ।”
झन् चासोको विषय त के भने, यही तस्करीलाई संरक्षण दिनेमा सुरक्षा निकायकै संलग्नता रहेको आरोप छ । जिल्ला र प्रदेशस्तरसम्मकै ‘सेटिङ’मा तस्करी मौलाएको भन्दै स्रोतले गम्भीर प्रश्न उठाएको छ ।
सशस्त्र प्रहरीका असई सुरेश महतो र नेपाल प्रहरीका कृष्णनन्दन ‘घुमुवा’ शैलीमा सक्रिय रहँदै तस्करहरूसँग साता–महिना उठाउने गरेको आरोपले झनै स्थिति गम्भीर बनाएको छ । “लाइन मिलाएर पैसा उठाइन्छ, अनि माल सजिलै पार हुन्छ,” स्रोत भन्छ ।
यता, भारतीय सशस्त्र सीमा बल (एसएसबी) भने कहिलेकाहीँ ‘एक्सन’मा देखिन्छ । ५१ औं बटालियनको ढाका टोलीले हनुमाननगर नाकामा ३,५१५ केजी चिनियाँ स्याउसहित दुईवटा महिन्द्रा पिकअप नियन्त्रणमा लिएको घटना ताजा उदाहरण हो । बरामद सामान सोनवर्सा कस्टममा बुझाइएको छ ।
घटनाले सीमा क्षेत्रमा भइरहेको अवैध धन्दाको नाङ्गो तस्वीर बाहिर ल्याएको छ । तर प्रश्न उस्तै—नेपालतर्फका सुरक्षाकर्मी किन मौन ?
स्रोतका अनुसार, सन्तोष भण्डारी जस्ता नामुद तस्करहरूले बलियो सञ्जाल बनाएर प्रशासनदेखि सुरक्षा निकायसम्म आर्थिक प्रभावमा राख्दै धन्दा निरन्तर चलाइरहेका छन् ।
सीमामा तस्करी रोक्ने जिम्मेवारी बोकेकाहरू नै ‘लाइन मिलाउने’ खेलमा लागेपछि सर्लाहीमा कानुनको राज कि तस्करको—प्रश्न गम्भीर बनेको छ ।