काठमाडौं, ११ चैत ।
एक सातादेखि ओरालो लागिरहेको सुनको भाउ बुधबार अकस्मात् आकाशियो। एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँ बढेपछि बजारमा हलचल मच्चिएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको तीव्र उछालको असर नेपाली बजारमा सीधै देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन यही सुन २ लाख ७३ हजार ९ सय रुपैयाँमा सीमित थियो।
यता, चाँदी पनि सुनकै बाटोमा उक्लिएको छ। एकैदिन ४१५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ९२० रुपैयाँ पुगेपछि चाँदी बजार पनि तातिएको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय मूल्यवृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको आकर्षणका कारण सुन–चाँदी दुबैमा अचानक उछाल देखिएको हो।