रौतहट । चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत गौर रोड क्षेत्रमा रहेको म्याजिक काउन्टरको अव्यवस्थित सञ्चालनले स्थानीयवासीलाई सास्ती मात्र होइन, ज्यानै जोखिममा पार्ने अवस्था सिर्जना भएको छ। सडक नै अतिक्रमण गर्दै म्याजिक, ई–रिक्सा तथा राजमार्गमा गुड्ने सवारी साधनको अनियन्त्रित चापका कारण उक्त क्षेत्र दुर्घटनाको ‘हटस्पट’ बन्दै गएको स्थानीयहरूको गुनासो छ।
स्थानीय बासिन्दा नरेश लामिछानेका अनुसार एउटै स्थानमा म्याजिक काउन्टर, गौर चल्ने बसको काउन्टर तथा यात्रु ओसारपसार गर्ने ई–रिक्सा र टेम्पोहरूको भीड लाग्दा सडक साँघुरो जस्तो देखिने अवस्था छ। “सडक नै च्यातेर सवारी राखिन्छ, यात्रु तानातान हुन्छ, पैदल हिँड्ने ठाउँ नै छैन,” उनले भने, “यस्तो अवस्थामा सानो गल्तीले पनि ठूलो दुर्घटना हुन सक्छ।”
विशेषगरी बिहान र साँझको समयमा यात्रुको चाप अत्यधिक हुने हुँदा सवारी साधनहरू जथाभावी रोक्ने, चढाउने र ओराल्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापन झन् जटिल बन्दै गएको छ। स्थानीय व्यवसायीहरूका अनुसार पसल अगाडि नै सवारी थुप्रिँदा व्यापारमा समेत प्रत्यक्ष असर परेको छ भने धुलो, धुँवा र कोलाहलले वातावरण प्रदूषित बनेको छ।
स्थानीयवासीहरूले सम्बन्धित निकायसँग पटक–पटक व्यवस्थापनको माग राख्दै आए पनि ठोस पहल नहुँदा समस्या झन् बल्झिँदै गएको उनीहरूको भनाइ छ। उनीहरूका अनुसार एउटै स्थानमा विभिन्न सवारीका काउन्टर राख्नु नै समस्याको मुख्य कारण हो, जसले अनावश्यक भीडभाड बढाएर दुर्घटनाको जोखिम उच्च बनाएको छ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले भने समस्या समाधानतर्फ आफूहरू गम्भीर रहेको जनाएको छ। कार्यालय प्रमुख राजेन्द्र थापा मगरले उक्त स्थानको अवस्था अध्ययन गरी चाँडै व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए। “हामीले त्यहाँको अवस्थाबारे जानकारी पाएका छौं, छिट्टै ट्राफिक व्यवस्थापनका लागि आवश्यक कदम चालिनेछ,” उनले भने, “भीडभाड कम गर्ने र दुर्घटना न्यूनीकरण गर्ने दिशामा काम अघि बढाइनेछ।”
ट्राफिक प्रहरीका अनुसार सम्भावित उपायहरूमा काउन्टर स्थानान्तरण, सवारी पार्किङको स्पष्ट व्यवस्था, एकतर्फी रोकिने प्रणाली लागू गर्ने तथा नियमित निगरानी बढाउने योजना समावेश हुन सक्छ। यद्यपि, यी उपायहरू कार्यान्वयनका लागि स्थानीय तह, यातायात व्यवसायी र सरोकारवाला निकायबीच समन्वय आवश्यक पर्ने देखिन्छ।
यता स्थानीयवासीहरू भने तत्काल अस्थायी व्यवस्थापन गरेर भए पनि दुर्घटनाको जोखिम घटाउन आग्रह गरिरहेका छन्। “पहिला ट्राफिक प्रहरी खटाएर लाइन मिलाउने, अनावश्यक सवारी हटाउने जस्ता काम तुरुन्त गर्नुपर्छ,” अर्का एक स्थानीयले भने, “नत्र कुनै दिन ठूलो दुर्घटना भएपछि मात्र सबै जाग्ने अवस्था आउन सक्छ।”
समग्रमा, चन्द्रनिगाहपुर–गौर सडकखण्डको उक्त क्षेत्र अहिले अव्यवस्थित सवारी सञ्चालनको प्रत्यक्ष उदाहरण बनेको छ। समयमै प्रभावकारी व्यवस्थापन नभए दुर्घटनाले ठूलो मानवीय र भौतिक क्षति पुर्याउन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।








