काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार ओरालो लाग्ने क्रम जारी छ । शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घट्दा बजारमा थप निराशा छाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिनमा झन्डै पाँच हजारले सस्तिएको हो ।
पछिल्लो एक साताको अन्तरालमा हेर्दा सुनको भाउ झन्डै १३ हजार ५ सय रुपैयाँले घटेको देखिन्छ । गत शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ पुगेको सुन निरन्तर ओरालो लाग्दै हालको मूल्यमा झरेको हो ।
यता, चाँदीको मूल्य पनि घट्दो क्रममा देखिएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १५० रुपैयाँ घटेर आज ४ हजार ६७० रुपैयाँमा झरेको छ । हिजो मात्रै ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी साताको हिसाबमा २२५ रुपैयाँले सस्तिएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम थियो ।
सुनचाँदीको भाउ निरन्तर घट्दै जाँदा बजारमा लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन् भने व्यवसायीहरू कारोबार सुस्ताएको गुनासो गर्न थालेका छन् ।








