काठमाडौं — राजधानीको सत्ता समिकरणमा अन्तिम घडीमा नाटकीय मोड आएको छ। बालेन शाह नेतृत्वमा बन्न लागेको मन्त्रिपरिषद्बाट प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको नाम काटिएको छ। प्रारम्भिक छलफलमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने सहमति बनेको थियो, तर अन्ततः उक्त निर्णय परिवर्तन गर्दै बालेनले उद्योग मन्त्रालय आफ्नै मातहतमा राख्ने निर्णय गरेका छन्।
स्रोतका अनुसार मन्त्रिपरिषद् गठनको अन्तिम चरणसम्म अमरेशको नाम सूचीमा कायम थियो। तर मन्त्रालय बाँडफाँडको संवेदनशीलता, शक्ति सन्तुलन र आन्तरिक रणनीतिलाई मध्यनजर गर्दै अन्तिम समयमा उनको नाम हटाइएको बताइएको छ। यससँगै उद्योग मन्त्रालय मात्र होइन, बालेनले रक्षा मन्त्रालयसमेत आफैंसँग राख्ने निर्णय गरेका छन्, जसले सत्ता सञ्चालनमा उनको प्रत्यक्ष नियन्त्रण अझ बलियो हुने संकेत दिएको छ।
राजनीतिक वृत्तमा यस निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी, उद्योगजस्तो महत्वपूर्ण आर्थिक क्षेत्रसँग सम्बन्धित मन्त्रालय आफैंले सम्हाल्नुले बालेनको प्राथमिकता र आगामी कार्यदिशा स्पष्ट देखिने विश्लेषण गरिएको छ। रक्षा मन्त्रालयसमेत आफ्नै जिम्मामा राख्नुले सुरक्षा तथा रणनीतिक निर्णयहरूमा प्रत्यक्ष पकड कायम राख्ने उनको चाहना प्रष्ट हुन्छ।
उता, अमरेश कुमार सिंह भने पछिल्लो संसदीय निर्वाचनमा चर्चित विजय हासिल गरेका नेता हुन्। उनले सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापा लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यस्तो प्रभावशाली जितपछि मन्त्री बन्ने अपेक्षा गरिएको भए पनि अन्तिम समयमा नाम काटिनुले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।
विश्लेषकहरूका अनुसार, मन्त्रिपरिषद् गठनमा देखिएको यो परिवर्तनले आगामी दिनमा सत्ता समीकरणमा थप उतारचढाव ल्याउन सक्ने संकेत गरेको छ। अमरेशलाई किन अन्तिम घडीमा बाहिर राखियो भन्ने विषयमा आधिकारिक धारणा सार्वजनिक नभए पनि यसले आन्तरिक राजनीतिक समिकरण र शक्ति सन्तुलनमा असर पार्ने देखिन्छ।
यस घटनाक्रमले बालेन नेतृत्वको मन्त्रिपरिषद्को संरचना मात्र होइन, आगामी राजनीतिक दिशा र निर्णय प्रक्रियामा समेत चासो र बहस थपिएको छ।








