काठमाडौं, १४ चैत — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली रातारात भक्तपुरको गुण्डुस्थित निवास पुगेपछि राजनीतिक माहोल तातिएको छ।
सरकारी निर्णय कार्यान्वयनको दबाबसँगै प्रहरी टोली आवश्यक कागजातसहित ओली निवास पुगेको हो। निवास वरिपरि रातभरि नै कार्यकर्ता र नेताहरूको बाक्लो उपस्थिति देखिएको छ, जसले स्थिति झन् संवेदनशील बनाएको छ।
ओली निवासमा उपस्थित एमाले नेतृ रामकुमारी झांक्रीका अनुसार प्रहरी टोली पक्राउ पुर्जीसहित पुगे पनि तत्कालै ओलीलाई उठाइएको छैन।
उनले भनिन्, “उहाँहरू कागजातसहित आउनुभएको छ, तर बा (ओली) राति अबेर मात्र सुत्नुभएकोले केही समय आराम गर्न दिइएको छ।”
यसैबीच, नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि घटनाक्रम तीव्र बनेको हो।
गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरेपछि प्रहरीले औपचारिक लिखित आदेश माग गरेको थियो। सोही प्रक्रियापछि प्रहरी टोली ओली निवास पुगेको स्रोतले जनाएको छ।
निवास बाहिर समर्थकहरूको भीड बढ्दै जाँदा कुनै पनि बेला स्थिति झन् तनावपूर्ण बन्न सक्ने अनुमान गरिएको छ।








