काठमाडौं — पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ । कटुन्जेस्थित उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को निवासमा पनि प्रहरी पुगेको छ । सरकारको निर्णयअनुसार दुवै नेतामाथि फौजदारी अनुसन्धान अघि बढाइएको हो ।
नयाँ मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा निकाय सक्रिय बनेका हुन् । सो प्रतिवेदनमा ओली, लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि अनुसन्धान सिफारिस गरिएको थियो ।
गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा प्रमुखहरूसँग लगातार छलफल गरेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो । कानुन मन्त्रालयबाट लिखित आदेश आएपछि प्रहरीले कारबाही सुरु गरेको स्रोतले जनाएको छ ।
मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत ‘लापरबाहीपूर्ण कार्यबाट ज्यान गुमेको’ कसुरमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।








