वीरगन्ज, ३० चैत — पर्साको वीरगन्जमा एक प्रहरी जवानको हत्या प्रकरणले सनसनी मच्चाएको छ। विवाहित महिलासँगको सम्बन्धकै कारण २७ वर्षीय प्रहरी जवान विकास चौरसियाको योजनाबद्ध हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
वीरगन्ज–९ श्रीपुरमा डेरा गरी बस्दै आएकी २४ वर्षीया सोनी साहसँग चौरसियाको सम्बन्ध रहेको खुलेपछि घटनाले जटिल मोड लिएको हो। सोनीका श्रीमान सन्तोष साह विदेशबाट फर्किएपछि पुरानो सम्बन्धबारे जानकारी पाएर बदला लिन योजनाबद्ध रूपमा हत्या गराएको प्रहरीको दाबी छ।
घटनामा संलग्न रहेको आरोपमा सन्तोष साह, उनकी पत्नी सोनी साह, बारा निवासी विशाल साह र भारतीय नागरिक कन्हैया कुमार पक्राउ परेका छन्। प्रहरीका अनुसार चौरसिया आइतबार साँझ सोनीको डेरामा पुगेको केहीबेरमै आक्रमणमा परेका थिए। धारिलो हतियार प्रहार र कुटपिटपछि गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटना अत्यन्त योजनाबद्ध रहेको निष्कर्ष निकाल्दै थप अनुसन्धान तीव्र बनाएको जनाएको छ।








