वीरगन्ज, ३० चैत
वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुर चौकमा सशस्त्र प्रहरीकै गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवक घाइते भएका छन्।
ना.१ झ १५३१ नम्बरको सशस्त्र प्रहरीको स्कार्पियोले प्रदेश २–००१–प १६२९ नम्बरको प्लाटिना मोटरसाइकललाई ठक्कर दिँदा चालक दिपेन्द्र श्रीवास्तव घाइते भएका हुन्। उनी वीरगन्ज महानगरपालिका–३२, चोर्नी निवासी हुन्।
घाइते श्रीवास्तवको उपचार नारायणी अस्पतालमा भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले जानकारी दिए।
प्रहरीका अनुसार ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो। तर, प्रत्यक्षदर्शीहरूले भने चिनी र तेल बोकेको मोटरसाइकललाई गाडीले ‘घुमाएर’ ठक्कर दिएको दाबी गरेका छन्, जसले घटनालाई थप शंकास्पद बनाएको छ।
घटनाको जानकारी पाएलगत्तै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई खबर गरिएको थियो। त्यसपछि वडा प्रहरी कार्यालय श्रीपुरका सई धिरेन्द्र थपलियाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाले सशस्त्रकै सवारी सञ्चालनप्रति गम्भीर प्रश्न उठाएको छ